ललिता निवास प्रकरणमा माधव नेपालले प्रष्टोक्ति ‘म अपराधी हैन’

माघ २५, विराटनगर । ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रष्टीकरण दिएका छन् ।   

हिजो विराटनगरमा पत्रकारहरुसँग बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको जिकिर गरे । ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेकोमा तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष समेत रहेका नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्दै आयोगकै आलोचना भइरहेको छ ।   

आयोगले मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको हकमा केही गर्नुनपर्ने बताउँदा पूर्वमन्त्रीहरुलाई भने भ्रष्टाचारी ठहर गरेको प्रति बहस चलेको छ । तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले आयोग सरकारको छत्रछाँयामा चलेको भन्दै विरोध गरेको छ । 

नेता नेपालले जग्गा प्रकरणमा आफू कतैबाट दोषी नभएको बताए । ‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’ नेता नेपालले भने । 

उनले आफ्नो पालामा कुनै नयाँ मोही बनाउन निर्णय नभएको प्रष्ट पारेका छन् । ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’ उनले भने । नेता नेपालले ललिता निवास प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दाेष मान्छे पर्न पनि नहुने प्रष्ट पारे । ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न भन्ने मेरो मान्यता हो ।’ 

नेपालले कांग्रेसले भनेजस्तो पार्टीगत रुपमा कसैलाई फसाउन खोजेको आफूलाई नलागेको बताउँदै यदी कसैलाई फसाइएको हो भने त्यो गलत हुने धारणा राखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =