‘कोरोना भाइरसबाट त्रसित हुनु पर्दैन, सजग हुनुहोस्’

माघ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट त्रसित नहुन आम जनमानसमा आग्रह गरेका छन् ।
गएको बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रम ओलीले कोरोना भाइरसबाट त्रसित नभइ सजगता अपनाउन आग्रह गरेका हुन् । कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि माक्सको प्रयोग गर्न सुझाव दिए ।
उनले भने, ‘कोरोना भाइरसबाट त्रसित हुनु पर्दैन । सजग रहनुस् । माक्स सटेज हुन नदिन अधिकतम उत्पादन गर्ने काम सुरु भएको छ।’

कोरोना भाइरसको प्रकोपका कारण चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गरिएको तथा उनीहरुको उद्धार थालिएको पनि प्रम ओलीले बैठकमा जानकारी दिए ।
यस्तै उनले भ्रष्टाचार नियन्त्रण भइरहेको पनि दाबी गरे । मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।
‘भ्रष्टाचार नियन्त्रण भइरहेको छ । सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिनु हुँदैन । कुनैपनि तहको सरकारमा रहेकाहरु र कोही पनि व्यक्तिले भ्रष्टाचारमा मुछिएको फेला परे कारवाही हुन्छ’, उनले भने ।








