दिनप्रतिदिन क्यान्सर रोगीको संख्या बढ्नु दुःखद् : डा. पौडेल

माघ २१, काठमाडौं । नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् ।   

मंगलबर काठमाडौंस्थित् लोयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजनामा ‘विश्व क्यान्सर दिवस’को अवसरमा आयोजित अन्तरक्रियामा डा. पौडेलले यस्तो बताएका हुन् । उनले ३० देखी ५० प्रतिशत क्यान्सर खानपान र अस्वस्थ जीवन शैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बताउनुपर्ने बताएका छन् । यसको अलावा सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्ने उनले बताए ।   

क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे ।   

नेपालमा अझैपनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने उनले जिकिर गरे । ‘सुरुवाती अवस्थामै क्यान्सर पहिचान गरी र उपचार गर्न सकेमा उपचार खर्च कम हुन्छ । यसका लागि विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’ डा. पौडेलले भने । 

उनले वर्षको एक दिन क्यान्सर दिवन मनाउनु भन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजन्य पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नुपर्ने पनि सुझाव दिए । ‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको छ ।’–उनले सुनाए ।   

उनले ४० वर्ष नाघेका महिलाहरुले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने सल्लाह दिए । उनले भने,‘त्यस्तै, ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनको लागि पनि नियमित परीक्षण गराउनुपर्छ ।’ 

कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक जनचेतना जगाउनुपर्ने बताए ।   

नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन किशोर किशारीहरूलाई अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने कडरियाको भनाई छ ।   

लोयल्टी एकेडेमीका प्रिन्सिपल योगेशचन्द्र सम्हायेले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि क्यान्सर रोगबारे जानकारी प्रदान गराएकोमा खुशी व्यक्त गरे । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयले विशेष अभियान सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =