पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर मात्रै विश्राम लिन्छु : डा शेखर कोइराला

फागुन ११, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आगामी निर्वाचनमा बहुमत ल्याउँन सक्ने बनाउँने लक्ष्य बोकेर हिँडेकाले लक्ष्य प्राप्त नभएसम्म आफुले बिश्राम नलिने बताएका छन्। पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउँन आफु जस्तोसुकै कठीन काम गर्न पनि तयार रहेको डा. काेइरालाले बताए। 

पार्टीभित्र रहेका सबै बिकृति हटाएर पार्टीलाई संस्थागत तरिकाले डाेर्याउने अभियानमा आफु लागेको बताउँदै डा. कोइरालाले भने-“गुट र भागबण्डाको राजनीतिले गर्दा पुस्तौनी आफ्नो सम्पुर्ण जीवन पार्टीका लागि लगानी गरेका त्यागी साथीहरु माथी अन्यायको श्रृंङ्खला बढ्दै गयो त्यसैले गर्दा पार्टी आज यो अवस्थामा पुग्यो ।” 

नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्ने क्रममा डा. कोइरालेले पार्टी भित्र मुल्यांकनको परिपाटी अन्त्य भएको बताउँदै १४औं महाधिवेशनपछि दुरदराजका निष्ठावान र ईमान्दार पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि न्याय हुने समेत बताए । आफु सत्यको बाटोमा हिँडेको बताउँदै डा. कोइरालाले जस्तोसुकै कठिन परिस्थिति आएपनि सत्यको बाटो नछोड्ने र बिचलित नहुने प्रष्ट पारे। 

कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले दुई कम्युनिष्ट पार्टी एक भएर मात्रै कांग्रेसको पराजय नभएको भन्दै कांग्रेसभित्रको अन्तर्घात पनि महत्वपूर्ण कारक रहेको उल्लेख गरे । उनले जब जब महाधिवेशन नजिकिँदै जान्छ अनि क्रियाशील सदस्यताको मामिला पेचिलो बनेर आउने गरेको बताए । गिरीले भने “जो व्यक्ति कांग्रेसको बफादार कार्यकर्ता हो । जसले कांग्रेसका लागि समय दिन्छ । पार्टीप्रति इमानदार छ भने उसलाई क्रियाशील सदस्यता दिनुपर्छ ।” 

अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा तीन थरी प्रवृत्ति हावी भएको बताए । उनले भने-“पहिलो थरी कांग्रेसीहरु विधान कुल्चिने, विवेक प्रयोग नगर्ने र पार्टी कब्जा गर्न उद्दत छन् । दोस्रो थरी कांग्रेसीहरु यस्तो गर्दैनन्, तर भाण्डबन्डा पाउँदा पहिलो थरीका कांग्रेसीलाई सहेर बस्छन् । र, तेस्रो थरी कांग्रेसीहरु न्याय, समानता र निष्ठाका लागि लड्छन् । हामी तेस्रो धारको प्रतिनिधित्व गर्छौं।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =