प्रेरणा शाहको मुद्दा खारेज, अन्तराष्ट्रिय समुदाय गुहार्ने चीनमा रहेका विद्यार्थीको चेतावनी, नेपाल छिट्टै जल मार्गमा जोडिने

माघ २५, काठमाडौं । आजका पत्रपत्रिकाले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले दाइजो स्वरुप पाएको भनिएको छाउनी स्थित १५ रोपनी १ आना जग्गा र विजयाघरको मुद्दामा सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएको समाचार प्रमुखताका साथ प्रकाशित भएका छन् ।   

राजधानीबाट प्रकाशित नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोस्ट, नागरिक शनिबारले यो समाचार अग्रपृष्ठमा प्रकाशित गरेका छन् ।   

नागरिक दैनिकका अनुसार सर्वोच्च अदालतले सरकारी सम्पत्ति तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले ‘दाइजो’ स्वरूप नपाउने ठहर दोहोर्याउँदै त्यससम्बन्धी मुद्दा शुक्रबार खारेज गरेको छ ।   

ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोस्वरूप दिएको भनिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा र विजयाघर सरकारी हुने फैसला गर्दै सर्वोच्चले सार्वजनिक सम्पत्ति संरक्षण गर्न तीन वर्षअघि निर्देशनात्मक आदेशसमेत गरेको थियो । 

सर्वोच्चको फैसलाविरुद्ध प्रेरणाले दाइजोबाट पाएको घरजग्गा, सम्पत्ति हरण गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अघिको फैसलालाई निरन्तरता दिँदै प्रेरणाको रिट निवेदन खारेज गरेको हो ।   

यहि समाचारलाई आजको नयाँपत्रिकाले विशेष समाचार बनाएको छ । नयाँ पत्रिकाले ‘ नेपाल ट्रस्टको १५ रोपनी जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणाको अन्तिम प्रयास पनि संवैधानिक इजलासबाट खारेज’ शिर्षकमा समाचार छापेको छ ।   

समाचार अनुसार प्रेरणाको दाइजो राज्यको नाममा आएको ०६४ मा हो । तर, सात वर्षपछि ०७१ मा उनले सर्वोच्चमा मुद्दा हालिन् । ४ जेठ ०६२ मा जग्गा आफ्नो नाममा नामसारी भएको उनको दाबी थियो । ०६४ मा मात्रै कानुन आएको, तर त्यसअघि नै आफ्नो नाममा जग्गा आएकाले कानुन लागू नहुने प्रेरणाको जिकिर थियो । ६ असार ०७२ मा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भन्यो, ‘पहिले नै दाइजोमा दिइसकेको सम्पत्ति पछि बनेको कानुनअनुसार राज्यको नाममा ल्याउने मन्त्रिपरिषद्को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकोले फिर्ता गर्नू ।’ यसरी सम्पत्ति प्रेरणाले नै पाइन् । 

सर्वोच्चको फैसलाविरुद्ध ट्रस्टले सर्वोच्चमा पुनरावलोकनका लागि आवेदन दियो । न्यायाधीशत्रय विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले पुनरावलोकन हुने ठहर र्गयो । २१ पुस ०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले भन्यो, ‘सो सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा दर्ता नै नभएकाले उनले दाइजो दिन मिल्दैन ।’ यो फैसलाले सम्पत्ति ट्रस्टमा फर्कियो । त्यसपछि अन्तिम प्रयास गर्दै प्रेरणाले नेपाल ट्रस्ट नै खारेज गर्ने मागसहित ०७५ पुसमा संवैधानिक इजलासमा रिट दायर गरिन् । जसलाई संवैधानिक इजलासले शुक्रबार खारेज गरिदिएको छ । 

आजको अन्नपुर्ण पोस्टले कोरोना भाइरसबाट चीनमा नेपाली विद्यार्थीहरुले भोग्नुपरेको त्रासदीलाई मुख्य समाचार बनाएको छ । ‘चीनमा बन्दीझैं बसेका विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तराष्ट्रिय समुदाय गुहार्छौं’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।   

समाचार अनुसार कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तराष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन् । नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन् । 

‘हामीमाथि खेलवाड भएको छ । समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गर्न पाइएन,’ नेपाल फर्कन आवेदन दिएका एक विद्यार्थीले विच्याटमा भने, ‘अब हामी विश्व समुदायसँग अपिल गर्नेछौं। विश्वमा मानवता बाँकी नै होला !’ 

उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन् । नत्र अन्तराष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन् । ‘कि हामीलाई स्वदेश फर्काउनुर्पयो, कि तत्काल कोही मन्त्री वुहान आएर अभिभावकत्व दिनुर्पयो भनेर आग्रह गरेका छौं,’ उनले भने । 

यता कान्तिपुर दैनिकले भने कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तब्यलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।   

समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताएका छन् । शुक्रबारबाट सुरु भएको कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा विद्वत प्रवचन दिँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित राष्ट्र भए पनि छिट्टै विश्वसँग जोडिने बताएका हुन् । 

उनले भने,‘भूपरिवेष्ठित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने छ र हाम्रा ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक पानीजहाजहरु चल्न थाल्नेछन् ।’ 

प्रधानमन्त्री ओलीले दुई वर्षअघि प्रधानमन्त्रीका रुपमा जनताले गरेको विश्वासलाई जिम्मेवारीपूर्वक निर्वाह गर्दै विकासको यात्रालाई नेतृत्व प्रदान गरेको बताए । ’मेरो कार्यकालको मध्यतिर आइपुग्दा हामीले देशमा सकारात्मक उर्जा सञ्चार गर्न सफल भएका छौं । यस्तै हामीले विकासका लागि राम्रो जग पनि खडा गरेका छौं । हाम्रो देशले अगाडि बढ्न सही ट्रयाक समातेको छ,’ उनले भने । 

हेर्नुहोस आजका पत्रपत्रिका 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *