साबधानः महिलालाई मात्र हैन पुरुषलाई पनि हुन्छ स्तन क्यान्सर

माघ १८, काठमाडौं । आम मानिसलाई महिलालाई मात्र स्तन क्यान्सर हुन्छ भन्ने छ । तर, पुरुषलाई पनि स्तन क्यान्सर हुने गरेको छ । चिकित्सकहरुका अनुसार पुरुषमा पनि स्तन क्यान्सर हुने खतरा हुन्छ ।
महिला वा पुरुषमा कोषिकाहरु बृद्धि भएर शरीर या स्तनमा गिर्खाहरु देखा परेका क्यान्सरको संभावना हुन्छ । त्यस्ता गिर्खाहरु देखा पर्दैमा स्तन क्यान्सर नै हो भन्न सकिन्न । तथापि, महिला पुरुष दुवैले आफ्ना स्तनमा त्यस्ता गिर्दाहरु देखा परेका तुरुन्त जचाई हाल्नु पर्ने क्यान्सर रोग विषेशज्ञ डा. सचिन शाक्यको भनाई छ । ‘प्रायः महिलालाई मात्र स्तन क्यान्सर हुन्छ भन्ने भ्रम छ, तर पुरुषलाई पनि हुन्छ, पुरुषको स्तनमा कुनै प्रकारको गिर्खा देखा परेमा जचाई हाल्नु पर्छ ।’ डा. शाक्य भन्छन् ।
स्तन क्यान्सरका लक्षणहरु केके हुन् ?

उनका अनुसार स्तन क्यान्सर भएको नभएको बायोप्सी र एफएनएफसी गरेपछि पत्ता लाग्छ । स्तन क्यान्सरका लक्षण पनि देखापर्छन । शुरुमा गिर्खा या गोलो गाँठो स्तनमा आउनु, महिलाहरुमा मुन्टो गाडिनु, मुन्टो थिच्दा झोलिलो पदार्थ जस्तै रगत, पीप जस्तो पदार्थ आउनु, स्तनको छालामा परिवर्तन हुनु, स्तनको छालामा प्रायः सुन्तलाको दानामा जस्तो स साना विमिरा देखिनु स्तन क्यान्सरको लक्षणको रुपमा बुझ्न सकिन्छ ।
यसका साथै स्तनको आकारपनि परिवर्तन हुनु क्यान्सरको अर्को लक्षण हो । दुवै स्तन हेर्दा एउटा सानो अर्को ठूलो देखिएपनि क्यान्सरको लक्षण मान्न सकिने डा. शाक्यको भनाई छ ।
स्तन क्यान्सर भएको कसरी पत्ता लगाउने ?
डा. शाक्यका अनुसार दैनिक ब्यस्त जिवनमा मानिस काम र पैसाको पछाडी मात्र दौडिइरहेकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकिरहेका छैनन् । आफ्नो शरीरलाई माया गरेर महिनामा एक पटक ५ मिनेट मात्र दिएपनि स्तन क्यान्सर लागेको पत्ता लगाउन सकिन्छ ।
‘स्तन क्यान्सर भएको पत्ता लगाउन डाक्टर कहाँ नै जानुपर्छ भन्ने छैन । महिनामा एक पल्ट आफ्नो स्तन आफैंले परीक्षण गरे सजिलै स्तन क्यान्सर भएको नभएको पत्ता लगाउन सकिन्छ ।’ डा. शाक्यको दावी छ ।
आफ्नो स्तन र शरीरमा कुनै गिर्खा, गाँठो छ छैन छामेर, हेरेर पत्ता लगाए धेरै हदसम्म स्तन क्यान्सरको खतराबाट बच्न सकिने डा. शाक्यको भनाई छ ।
के कारणले हुन्छ क्यान्सर ?
स्तन महिला या पुरुष दुवैमा हुने भएकोले दुवैलाई क्यान्सर हुने संभावना हुन्छ । महिलाको तुलनामा पुरुषमा स्तन क्यान्सर हुने संभावना कम हुन्छ । महिलामा ३० प्रतिशत स्तन क्यान्सर हुने संभावना हुँदा पुरुषमा १ प्रतिशत हुन्छ ।
महिला पुरुष दुवैमा स्तन क्यान्सर हुनुमा बंशाणुगत कारण हो । घरमा आमा बुबा छोराछोरी कसैलाई स्तन क्यान्सर छ भने उसको पुस्तालाई पनि हुने संभावना अत्याधिक हुन्छ । यो जेनेटिक डिफेक्टका कारण हुन्छ । ब्राका १ ब्राका २ जिनेटिनलाई स्तन क्यान्सरको प्रमुख कारण मानिन्छ ।
स्तन क्यान्सर हुनबाट कसरी बच्ने ?
स्तन क्यान्सर भएका विरामीले समान्यतया धेरै कुरामा ध्यान दिनुपर्छ । भने, स्तन क्यान्सर हुन नदिन पनि सावधानी अपनाउनु पर्छ । डा. शाक्य भन्छन्–‘मोटाउनु भएन, चिल्लो, बोसोयुक्त खानेकुरा खानु भएन । धुम्रपान मद्यपानबाट टाढा रहनुपर्यो । समयमै विवाह पनि हुनुपर्छ । साथमा परिवार नियोजनको हर्मन चक्कीहरु धेरै प्रयोग गर्नु पनि हुँदैन ।’ यी दुई चारवटा कुरालाई मात्र ध्यान दिएमा स्तन क्यान्सरबाट बच्न सकिन्छ ।
डा. शाक्य नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत क्यान्सर रोग विशेषज्ञ हुन् ।








