कोरियाका नेपालीमा कोरोना त्रास : राजदूतावास भन्छ- ‘नेपाली संक्रमित छैनन्, सचेत रहन भनेका छौं’

फागुन १२, काठमाडौं । कोरियास्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड-१९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ ।
दक्षिण कोरियामा कोरोनाको संक्रमण देखा परे पनि कोरियामा रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको दूतावासले बताएको हो ।
दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको बताए । कोरिया सरकार र राजदूतावासले भने अनुसार सावधानी अपनाए संक्रमणको जोखिममा पर्ने खतरा नरहेको उनको भनाई छ ।

कोरिया सरकार कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म तरिकाले काम गरीरहेकाले चाँडै नै नियन्त्रणमा आउने उनले विश्वास व्यक्त गरे । श्रम कन्सुलर बास्तोलाका अनुसार कोरियामा कार्यरत नेपालीहरुले कोरोनाको संक्रमण कारण नेपाल फर्कने इच्छा राखेका छैनन् ।
धेरै संक्रमण थेगु शहरमा देखा परेको छ । थेगु शहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उनको भनाई छ । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले बताए ।
दूताबासले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा चेक जाँच तथा उपचार गराउन र सो क्रममा पक्राउ नगर्ने व्यस्था मिलाइएको उल्लेख गरेको छ ।
कोरियाबाट आउनेको कोरोना परीक्षण अनिवार्य
यता नेपाल सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ ।
करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो । कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो । यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।








