‘ललिता निवास प्रकरणमा प्रशंसनीय काम भयो, दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्छ’

माघ २५, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ढिलै भएपनि अनुसन्धान गरेर दोषिलाई मुद्दा दायर गरेकोमा स्वागत गरेका छन् ।   

पछिल्लो ८/१० वर्षदेखि भ्रष्टाचारको ब्रम्हलुट देखिएको टिप्पणी गर्दै उक्त प्रकरणमा अपराधीले उन्मक्ति पाउन नहुने बताए । ‘ढिलै भएपनि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’ थापाले शनिबार आयोजित सात्क्षात्कार कार्यक्रममा भने । 

मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा प्रति थापाले भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने तथा अपराधीलाई उन्मुक्ति पनि दिन नहुने जिकिर गरे ।  ‘अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर कानूनको कठघरामा उभ्याउने आशा छ ।’ थापाले भने । 

उनले आयोगलाई थप शक्तिशाली बनाउन अधिकार दिनुपर्ने माग गरे । ‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ । यसले आफ्नो विश्वनियता पनि कायम राख्नुपर्छ । ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ ।’ उनले भने ।   

आयोगले एनसेल कर काण्ड, वाईडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतमा भएका भ्रष्टाचारको अनुशन्धान गरेर अपराधीलाई छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनको लागि कदम चाल्नुपर्ने उनको सुझाव छ ।   

लोकतन्त्रको आवरणमा लूटतन्त्र 

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केही वर्षयता नेपालमा लोकतन्त्रको आवरणमा स्वच्छन्द ढंगले लुटतन्त्र चलिरहेको टिप्पणी गरे । ‘अहिले कसैले पनि डराउनुपर्ने अवस्था छैन्, कारबाही गर्ने, अनुसन्धान गर्ने र न्याय दिन निकायमा प्रमुख दुई ठूला दलले भागबण्डाका आधारमा नियुक्ती गर्ने गरेका छन् ।’ थापाले प्रशासनिक संरचनामा पार्टीको प्रभाव तिव्र रुपमा बढेको जिकिर गरे । ‘दलहरुले राजसंस्थालाई पाखा लगाएर जनतालाई स्वाभिमानी नागरिक नभएर रैती ठानेका छन् ।’ 

एमसीसी स्विकार्नुपर्छ 

थापाले अमेरिकी आर्थिक सहायता (एमसीसी) बारे योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गर्ने, विवाद खडा गर्ने र जनताका मनमा द्धिविधा र आशंका पैदा गर्ने कार्यहरु भैरहेको टिप्पणी गरे । नयाँ दिल्लीमा २०६२ साल मंसिरमा भएको १२ बुँदे समझदारीपछि नेपालमा बाहृय शक्तिको चलखेल, प्रभाव र हस्तक्षेप तिव्र रुपले बढेर गएको भन्दै उनले प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शीताका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनैतिक प्रतिष्पर्धास्थल बन्न सक्ने खतरा देखिएको जिकिर गरे ।   

उनले एमसीसी र बिआरआईसम्बन्धी विवाद त्यही खतराको पूर्व संकेत भएको टिप्पणी गरे । उनले भने,‘एमसीसीसम्बन्धी सम्झौतामा भएका केही सामान्य त्रुटी र कमिकमजोरीलाई हटाएर अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता लिनुपर्दछ ।’   

उनले नेपालको कसैसँगपनि दुश्मनी नभएको कुनै सैन्य संगठनमा नरहेको तथा विश्वका सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध भएकोले नेपालको आर्थिक विकासमा अमेरिका, रुस, भारत, बेलायत, जापान, चीन सबैसँग सहयोग लिनपर्ने बताए ।   

‘शीतयुद्धको कालमा जब सिंगो विश्व दुई ध्रुवमा विभाजित रहेको थियो, त्यो बेलामा राजा महेन्द्रको परिपक्प र दुरदर्शी नीतिको कारणले गर्दा हामीले कुनैपनि समूहमा संलग्न नभईकन अमेरिका, रुस, चीन, भारत सबैको सहयोग लिएर नेपालको आर्थिक विकासको रेखा कोरेको हाम्रो विगतको अनुभव छ ।’ उनले भने ।   

थापाले कुनै बाहृय शक्तिको दबाब र प्रभावमा परेर सहयोग लिने वा नलिने भन्ने निर्णय नभएर नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर सहयोग लिने कार्य गर्नुपर्ने सुझाए । यस क्रममा एमसीसीबाट सहयोग लिँदा नेपालको कुनै राष्ट्रिय हित र स्वार्थमाथि आघात नपुग्ने थापाको ठहर छ ।   

उनले एमसीसीलाई विवादभन्दा माथि उठाएर यसमा भएका केही कमिकमजोरीहरुलाई हटाएर चाँडोभन्दा चाँडो कार्यान्वयनमा लैजानुपर्ने सुझाब दिए । सम्झौतामा एउटा अनुपयुक्त प्रावधान पाएको भन्दै थापाले एमसीसीका सम्झौताका प्रावधानहरुमा नेपालको कानून बाझियो भने एमसीसीको प्रावधान मान्य हुने भनेर लेखिएको वाक्य नेपालको संवैधानिक सर्वोच्चता र नेपालको कानूनअनुरुप नहुने भएकोले त्यसलाई सच्याएर जानुपर्ने सुझाव दिए ।   

राप्रपा अग्रणी प्रजातान्त्रिक शक्ति   

उनले राप्रपालाई देशको एउटा अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न आफूहरु मन, वचन र कर्मले क्रियाशिल रहेको सुनाए । कांग्रेस र कम्युनिष्टहरुको पटक–पटकको असफलताले जनताले विकल्प खोजिरहेको सुनाए । ‘त्यो विकल्प बन्न सक्ने वैचारिक, सांगाठनिक हैसियत अहिलेको नेपालमा केवल राप्रपासँग मात्रै रहेको छ, कांग्रेस र कम्युनिष्टबीचको विवाद भनेको विचार, नीति वा मार्गचित्रमा होईन, कसले लुट्न पायो, कसले लुट्न पाएन ? भन्ने हो ।’ 

उनले कांग्रेस र कम्युनिष्टको भन्दा फरक विचार बोकेर हिँड्ने पार्टी कुनै छ भने त्यो राप्रपा मात्रै भएको पनि दाबी गरे । उनले अबको तीन वर्षपछि हुने संसदीय निर्वाचनबाट राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने आफूहरुको प्रयास रहेको सुनाए ।   

पशुपति र प्रकाशचन्द्र अडिग भएनन् 

डेढ वर्षदेखि राप्रपा (संयुक्त) सँगको पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन गरेको भएपनि अन्तिम समयमा पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आफ्नो वचनमा अडिग हुन नसक्दा एकता प्रयास भाँडिएको थापाको भनाई छ ।   

‘एक दिनअघिमात्रै हामी तीन अध्यक्षबीच राप्रपालाई ५५ प्रतिशत दिने र राप्रपा संयुक्तलाई ४५ प्रतिशत दिने र चुनाव चिन्हको बारेमा उपयुक्त समयमा निर्णय लिने सहमति भएको थियो । तर, सहमति भएको भोलिपल्टै जबरा र लोहनी सहमतिमा अडिनुभएन ।’ उनले भने । 

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले अब पार्टीलाई महाधिवेशनमा होम्याएको उनले जानकारी दिए । उनले भने,‘२०७७ जेठ २५ गतेबाट केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु हुन्छ । हामी महाधिवेशनको तयारीमा जुटिसकेका छौं ।’ 

उनले महाधिवेशनको प्रक्रिया प्रारम्भ भएकोले अब एकताको प्रश्नै नआउने बताउँदै प्राविधिक रुपमा पनि यो संभव नभएको स्पष्ट पारे । उनले भने,‘भोलि महाधिवेशनपछि एकताबारे जे निर्णय गर्छ, त्यसपछि सोचौंला ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *