कांग्रेसले माग्याे प्रधानमन्त्री ओलीको राजीनामा

फागुन ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि उनीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि राजीनामा माग गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईं मन्त्री दीपक गिरीले प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैको राजीनामा माग गरेका हुन् ।
नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गिरीले सञ्चारमन्त्री बाँस्कोटाले कमिशन मागेको फोन रेकर्डले समग्र सरकारकै बदनाम गरेको आरोप लगाए ।
‘एक पछि अर्को काण्डमा मुछिएको ओली सरकार लाचार छ। कमिशनको प्रलोभनमा चुर्लुम्म डुबेको छ । देशको प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’, उनले भने ।
७० करोड रुपैयाँ कमिसनमा मुछिएका सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । यद्यपी सञ्चारमन्त्री बाँस्कोटाले भने आफूलाई फसाउन षडयन्त्र रचिएको दाबी गरिरहेका छन् । उनले आफू दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।








