कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, जो बाँस्कोटाका योजनाकार थिए, सेयर बजारको इतिहासमा नयाँ रेकर्ड

फागुन १२, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएको समाचार आजको नयाँ पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ ।   

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो । 

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए, समाचारमा छ । 

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो ।  

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो । 

सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । यो समाचार कान्तिपुरमा छ ।  

उनी चर्चामा आउनाका कारण हो- प्रेस स्थापनाका लागि उनले खेलेको शंकास्पद भूमिका । सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसदको लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए । त्यसको केही समयमै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए । थप यस्तै प्रश्नको जवाफ सामना गर्नुपर्ला भनेर हुन सक्छ, त्यही राति पौडेल अमेरिका उडे । 

मन्त्रालय स्रोतका अनुसार पौडेलकी पत्नी, छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । १० दिने बिदा स्वीकृत गराएर गएको भए पनि चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान छ। ‘उनको पनि ग्रिनकार्ड हुन सक्छ,’ उनीसँगै सुरक्षण मुद्रण केन्द्रमा काम गरेका एक पूर्वकर्मचारीले भने । फ्रान्सको आईएन ग्रुपसँग सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा पौडेलकै पहलमा जर्मन कम्पनीले प्रेस स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा युरोप भ्रमणमा गएका बेला गत वर्ष माघमा फ्रान्सको आईएन ग्रुपसँग प्रेस स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका हैसियतमा पौडेलले नै हस्ताक्षर गरेका थिए । 

अन्नपूर्णले ‘नेकपामा कार्यदल गठन विवाद’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो । गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राखेका छन् । 

पार्टी सचिवालयको शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य तोकिएको छ। यो विषय गोप्य राख्ने र गोप्य रूपमै त्यसले काम गर्ने तय भएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा उक्त निर्णय भएको सचिवालयका एक सदस्यले बताए । शनिबार गोप्य राखिएको निर्णय आइतबार सार्वजनिक भएपछि नेकपामा यसले विवाद निम्त्याएको छ । 

स्रोतका अनुसार एक व्यक्तिलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न खोजिएको भन्दै वरिष्ठ नेता नेपालकै समूहभित्र असन्तुष्टि देखिएको छ । नेम्बाङले पनि आफू कार्यदलमा नबस्ने भन्दै असन्तुष्टि जनाएका छन्। फलस्वरूप कार्यदल नजन्मिँदै विवादमा तानिएको हो । समाचार अनुसार, नेकपा संसदीय दलका उपनेता नेम्बाङले आफूलाई संविधान संशोधनको गृहकार्यका लागि गठन गरिएको कार्यदलमा राखिएकोमा असन्तुष्टि पोखेका थिए । आफू संविधानसभा अध्यक्ष भएर जारी गरेको संविधान आफ्नै पहलमा संशोधन गराउन उनी इच्छुक छैनन् । 

अध्यक्ष दाहालले सचिवालय बैठकमा कार्यदलको प्रस्ताव गर्दा प्रधानमन्त्री केपी ओली मौन बसेका थिए। कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यहरूमै मत बाझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ । ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ । सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गर्छन् । 

नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको समाचार गोरखापत्रमा छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो । 

आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो । यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो । 

यही फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । सो पश्चात् एकै दिनमा भएको फाग्ुन ५ गतेको कारोबार धेरै थियो । सो दिन नेप्से परिसूचक पनि १८६६.५० बिन्दुमा पुगेको थियो । जे होस् औपचारिक रूपमा सेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको कारोबार उच्चतम बिन्दु हो । सेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको सेयरको सङ्ख्याका आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो । 

नागरिकले ‘एआइजी बन्न तानातान’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो। अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ। 

आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१औं ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो। ९१औं ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन्। पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ। आठ महिना सिनियरसँग बढुवाको दौडमा सहभागी भएका पोखरेल एआइजी भए भने संगठनमा चेन अफ कमान्ड बिग्रने बताउन थालिएको छ। हाल पोखरेलको वरीयता नम्बर भने उपाध्यायको भन्दा बढी रहेको छ।  

९१औं ब्याची थापा, पाल, शाही र कार्कीभन्दा उपाध्याय वरीयतामा पछि छन्। तर उनी आइजिपी ज्ञवालीकै ब्याची हुन्। प्रहरी प्रधान कार्यालयले डिआइजी लम्साल, थापा र पाललाई एआइजीका लागि सिफारिस प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार त्यसमा शाही, कार्की, उपाध्याय र पोखरेललाई समेटिएको छैन। ‘गृह मन्त्रालयले सिफरिस मागेको बखत लैजान प्रस्ताव तयार भएको छ। मंगलबार मन्त्रीज्यू काठमाडौं आएपछि प्रस्ताव पठाउन सकिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। 

  

राजधानी दैनिकले ‘राष्ट्रिय सभा सदस्य पनि अब प्रधानमन्त्री !’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।   

नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।  शनिवार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेपनि यो निर्णय सार्वजनिक गरेको थिएन । नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सो कार्यदल गठन भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *