राष्ट्रपतिलाई संकटकाल लगाउने अधिकार, शक्तिशाली बामदेव, यतीलाई जग्गा दिन प्रचण्ड र देउवापनि संलग्न

फागुन १४, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरकफरक विषयलाई मुख्य समाचार बनाएका छन् । आज प्रकाशित कान्तिपुर दैनिकले राष्ट्रपतिलाई अधिकार थप्ने विषयको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकले ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नेपाल कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रपति जस्तो सेमेमोनियल पदलाई संकटकाल लगाउन सक्ने अधिकार दिने तयारी गरेको छ । यसैगरी आजको कान्तिपुरमा भारतको दिल्लीमा दंगा भड्किँदा अहिलेसम्म ११ जनाको मृत्यु भएको समाचार पनि छ । 

नयाँ पत्रिका दैनिकले नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउन नेकपाले संविधान नै संसोधन गर्न लागेको विषयमा प्रतिपक्षले मात्र हैन सत्तारुढ नेकपाकै नेताहरुले चर्को विरोध गरिरहेको समाचार प्रमुख समाचार छ । समाचार अनुसार पार्टीका शिर्षस्थ नेता सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल लगायतले गौतमलाई सांसद बनाउन गरिएको कसरतको चर्को विरोध गर्दै अबको तीन वर्ष उनले पार्टी सुदृढिकरणमा लाग्नुपर्ने बताएका छन् ।   

यस्तैगरी नेपाल ट्रष्टको कार्यालयले हिजो सार्वजनिक गरेको स्वेत पत्रको रिपोर्ट अनुसार दरवारमार्गको जग्गा प्रचण्ड र ताहाचलको जग्गा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यती समुहलाई लिजमा दिएको समाचार प्रकाशित गरेको छ । समाचार अनुसार गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ ।   

गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई गोकर्णको लिज हस्तान्तरण गर्दा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम थिए भन्ने श्वेतपत्रमा उल्लेख छ । 

त्यस्तै, ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लगाउने प्रस्ताव स्वीकृत हुँदा ट्रस्टको संरक्षकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष रहेको श्वेतपत्रमा उल्लेख छ ।   

दरबारमार्गको जग्गा लिजमा लिन बोलपत्र प्रस्तावमा भाग लिएका ६ फर्ममध्ये बढी बोलकबोल गर्ने यती समूहको थामसेर्कु प्रालिको प्रस्ताव ट्रस्टको सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ । ५ वैशाख ०७४ को बैठकले दरबारमार्गको जग्गा एक अर्ब ४० करोडमा ३० वर्षका लागि थामसेर्कुलाई लिजमा दिने निर्णय गरेको थियो । 

आजको नागरिक दैनिकले भने हिजो बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रेस प्रकरणमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने भनेको समाचार प्रकाशित गरेको छ । सरकारका पछिल्ला निर्णयहरु विवादास्पद हुनु र सरकारमै मन्त्रीहरु भ्रष्टाचारमा मुछिनु राम्रो नभएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । यतै निजगढ विमानस्थल निर्माणमा समेत यती समुहको चलखेल भएको समाचार छ । समाचार अनुसार निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ । 

सातवटा कम्पनीले आशयपत्र पेस गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल लगानी बोर्डले अघिल्लो महिना जुरिक एयरपोर्ट इन्टरनेसनल एजीलाई परियोजनाको विकास र सञ्चालनका निम्ति काम गर्न एकमात्र कम्पनीको रुपमा छनोट गरेको हो । 

जुरिक अन्तर्राष्ट्रिय एयरपोर्टको स्थानीय एजेन्ट यती ग्रुप रहेको र यही ग्रुपको सस्थागत स्वार्थ पूरा गर्न लगानी बोर्डले यो निर्णय लिएको बोर्डका एक अधिकारीले नागरिकलाई बताए । गत वर्षको सेप्टेम्बरमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको बैठकले जुरिक एयरपोर्टलाई छनोट गरेको सूत्रले बतायो । यति ठूलो परियोजनाका लागि प्रतिस्पर्धा नगराई एकमात्र कम्पनीलाई छनोट गरिनु शंकास्पद रहेको पनि उक्त सूत्रले बतायो । 

अन्नपूर्ण पोस्टले ‘गौतमको तागत’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नेकपाका नेता बामदेव गौतम पार्टी भित्र शक्तिशाली बन्दै गएका छन् । पार्टी विधान संशोधन गरेर उपाध्यक्ष भएका गौतम त्यसअघि नै संगठन विभाग प्रमुख थिए । उनी अहिले राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्यमा जुटेका छन् ।   

आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा र्पुयाइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ? 

उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान’ गर्नु । त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन् । गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन् । सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो । 

गोरखापत्रले भने नेपाल ट्रष्टको कार्यालयले हिजो जारी गरेको स्वेतपत्रकै विषयलाई प्रमुख समाचार बनाएको छ । राजधानी दैनिकले ‘नेपाल ट्रष्टको जग्गा हडप्नेहरु माथि कारवाही शुरु’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्ट पेज 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *