भ्यालेन्टाईन डे संस्कृतिकाे नाममा माैलाउँदाे विक्रिति

मान्छे अरू प्राणीभन्दा चेतनशील सामाजिक प्राणी हो । त्यही भएको कारण मान्छेले प्रेम र घृणा, आवेग र विवेक, ब्यक्तिगत चाह र सामाजिक नियम सबै विपरितहरूको अस्तित्वलाई गतिशील सन्तुलन मिलाउँदै अगाडि बढ्दछ । यो सन्तुलन मिलाउने सामर्थ्य मानवबाहेक अरू कुनै पनि प्राणीहरूसँग छैन । 

निश्चय नै मान्छे एउटा ब्यक्ति पनि हो र सामाजिक प्राणी पनि । मान्छेहरूको समूह समाज हो भने समाजको एउटा अंश व्यक्ति । तसर्थ मान्छेको भूमिका ब्यक्ति र समाजको रूपमा दोहोरो हुन्छ । व्यक्ति हुनाको नाताले उसको नितान्त निजी जीवन हुन्छ र हुनुपर्छ । त्यस्तै सामाजिक प्राणी हुनाको नाताले उसको जीवन सामूहिक पनि हुनुपर्छ । बिडम्बना, आज समाजमा यसको सन्तुलन विग्रदै गइरहेको छ । जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ । 

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ । समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनन्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ । 

null

हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सांस्कृतिक हिसाबले हामी कस्तो समाज निर्माण गर्दैछौं ? यो निक्कै ठूलो बहस हो । 

पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नुपर्छ । तर ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर-परिवार,समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्- ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’ 

हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्तव्य हो । सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्दै असल संस्कृति निर्माण गर्दै अघि बढ्दैँ सभ्य सुसंस्कृत समाजको निर्माण गर्नुपर्छ । 

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसँग तुलनीय भएका छन् । 

सपना बिग्रँदा तथा छाती चर्कँदा सन्तानमाथि अनिष्ट आइपर्ने आशङ्कामा रातभर जागा रहने, “आमा/बाबालाई” वास्ता नगर्नेहरुले केहि दिन यता सुन्दै र देख्दै छु, रोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाईन डे को बेग्र प्रतिक्षामा बसिरहेका छन् । हप्तौं अगाडिदेखि म्यासेजका चाङ थुप्रिएका छन् । प्रणय दिवसका लागि भनेर पसलमा सामान भरिएका छन् । लाग्छ, नेपालीका लागि कुनै ठुलो उत्सव र पर्व आउँदै छ ! 

पश्चिमी मुलुकबाट सुरूवात भएको भ्यालेन्टाईन डे नेपालमा संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय भ्यालेन्टाईन डे मा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामी कहाँ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएकाे छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ । 

मेरो मान्यता छ-मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो । 

माया यस्तो होस्- सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ-हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको नाम हो प्रेम । 

ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई व्यवस्थित गर्ने चुनौति थपिएको छ मान्छेभित्र । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम । 

जे जस्तो डे र दिवस भएपनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् ! पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *