‘अब सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिनुपर्छ’

फागुन १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सरकारविरुद्ध सशक्त रुपमा सडकमा उत्रिने बताएका छन् ।  

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।  

‘सरकार गठन भएको दुई वर्ष पुगिसक्दा पनि देश र जनताको हितमा खासै काम हुन सकेको देखिँदैन । अब सशक्त आन्दोलनमा उत्रिनुपर्छ । सरकारले गरेका गलत कामको भण्डाफोर गर्नुपर्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने । सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको उनको आरोप छ ।  

त्यस्तै बैठकमा सभापति देउवाले आफूले नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्झौता नगरेको पनि स्पष्टिकरण दिएका छन् । पछिल्लो समय उनीमाथि सरकारसँग सम्झौता गरेको पार्टीभित्रैबाट आरोप लाग्ने गरेको थियो । बैठकमा उनले यी सबै हल्ला मात्रै भएको र यसमा कुनै सत्यता नभएको जिकिर गरेको एक नेताले जानकारी दिए ।  

कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । साथै राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रुपमा मुद्दा लगाएको पनि कांग्रेसको आरोप छ । यसको विरोधमा उत्रिने पनि कांग्रेसले निर्णय गरेको छ ।  

नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा सरकारले झुठा मुद्दा लगाउने, दमन गर्ने गरेकोले चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णयमा पार्टी पुगेको कांग्रेस एक नेताले बताए ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको बुधबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले उपसभापति गच्छदारविरुद्ध पनि मुद्दा दायर गरेको थियो । यसैको विरोधमा कांग्रेसले प्रदर्शन समेत गर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =