विदेशमा हुने पर्यटन प्रचार/प्रसारका कार्यक्रम स्थगित

फागुन १७, काठमाडौं । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) ले विश्वका धेरै देशहरूमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काममा सरकार केन्द्रीत भएको बताए।
null
मन्त्री भट्टराईले कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको बताउँदै विश्व बजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको बताएका हुन् । उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ। आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरू अगाडि बढाउँछौँ। जब परिस्थिति अनुकूल हुन्छ। सन्त्रास हट्दै जान्छ। त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौँ।’









