संसदमा कांग्रेसको प्रश्न : देउवा प्रधानमन्त्री हुँदाको फाइल कहाँ हरायो ?

माघ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अख्तियारलगाएत संबैधानीक अंगहरुले सरकारको प्रभावमा परेर कुनैपनि गलत काम गर्न नहुने बताएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अख्तियार जस्ता संबैधानिक अंगले सरकारको छाँया बन्दै राजनीतिक प्रतिशोध साध्न नहुने जिकिर गरिन् । उनले भनिन्, ‘यसरी अखितयार लगाएत संबैधानिक अंगहरु सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नू हुँदैन, कुनैपनि निर्णय गर्नु हुँदैन, सरकारको छाँया बन्नु हुँदैन, यदी त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुँदै जान्छ ।’ 

उनले अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत गराउन संसद अवरुद्ध गरेको भन्दै यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने बताइन् । उनले भनिन्, ‘अख्तियारले जुन मुद्दा दायर गर्यो यो प्रतिशोध साध्न भएकाले प्रतिपक्षीको विरोध र गम्भिर आपत्ति भएको हुँदा संसद मार्फत त्यो संबैधानीक निकायसम्म पुगोस् भनेर कांग्रेसले संसदलाई अबरुद्ध गरेको हो ।’   

उनले संसदमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भएका निर्णयहरुको फाइल कहाँ गयो भनि प्रश्न समेत गरिन् । ‘क्याविनेटमा स्पाइनल कर्ट इन्जुरी, क्यान्सर लगाएतका पाँच वटा रोगलाई राहत दिन, जीवनयापनको लागि पैसा दिने भनेर पास गरेको थियो, भूकम्प पीडितलाई तीन लाखमा एक लाख थपेर दिने भनेर त्यही क्याविनेटले पास गरेको थियो, त्यो क्याविनेटको पाना कहाँ हरायो ?’उनको प्रश्न थियो । 

कांग्रेसले अवरोध नगरेपछि संसद सञ्चालन भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *