प्रतिष्ठानको वेथितिः पैसा तिरेर राखेको शव अन्यत्र सार्दा तनाव, डाक्टरमाथि हातपात

फागुन ११, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको शव कर्मचारीले अन्यत्र सारेपछि उत्पन्न तनावमा प्रतिष्ठानका डाक्टरमाथि नै हातपात भएको छ । आफन्तले शव पहिचान गर्न नसकेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको हो ।   

उनीहरुले फरेन्सिक विभागका एशोसिएट प्रोफेसर डा। अभिषेक कर्णमाथि हातपात गरेका छन् ।   

स्थानीय धरान–१७ का कुलबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएपछि शव प्रतिष्ठानको मर्चरीमा राखिएको थियो । तर, कर्मचारीले विना जानकारी मृतकको शव अन्यत्र सारिदिएपछि आफन्तले शव चिन्न सकेनन् । फागुन ८ गते विहान मर्चरीमा राखिएको शव कर्मचारीले आफन्तलाई जानकारी नै नगराई अन्यत्र सारेका थिए । मृतक लिम्बुको आफन्तहरु बेलायतमा रहेकाले दाहसंस्कार गर्नअघि उनीहरुलाई पर्खन प्रतिष्ठानको मर्चरीमा शव राखिएको थियो ।   

शनिबार विहानै दाहसंस्कारका लागि शव लिन मर्चरी पुग्दा शव बेवारिसे अवस्थामा भेटिएको मृतकका आफन्तले बताए ।   

‘८ गते मर्चरीको २ नं. च्याम्वरमा राखिएको शव १० गते विहान गएर हेर्दा चिन्नै नसक्ने गरि सडिएको अवस्थामा थियो ।’ मृतककी छोरी अनिता लिम्बुले बताइन्–‘पैसा तिरेर राखेको शवपनि अस्पतालले सुरक्षित राखिदिएन ।’ उनले भनिन् ।   

आफन्तले शव के कति कारणले सारिएको प्रतिष्ठान प्रशासनसँग जवाफ मागेपनि प्रशासनको तर्फबाट कसैले जवाफ दिन सकेनन् । त्यसपछि मृतकका आफन्त आक्रोशित हुँदै मर्चरीको तोडफोड गर्न लागे । त्यसक्रममा मर्चरीको झ्यालको शिसा तोडफोड भयो ।   

विहानै शव लिन मर्चरीमा भेला भएका मृतकका आफन्तहरुले विना जानकारी शव सारिएको विषयमा प्रशासनले माफि माग्नु पर्ने र आफुखुशी शव अन्यत्र सार्नेलाई कारवाहीको माग गरेपनि प्रतिष्ठान ब्यवस्थापनले बेवास्था गरेको आरोप लगाउँदै विरोध गर्न थालेपनि विवाद सुल्झाउन भन्दै फरेन्सिकका डा। कर्ण दिउसो १२ बजेपछि आएका थिए ।   

कर्णले मृतकका आफन्तलाई चित्त बुझ्दो जवाफ दिन नसकेपछि आक्रोशित स्थानीयले डा. कर्णमाथि हातपात नै गरेका थिए ।   

मृतक लिम्बुको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनीहरुले वीपी प्रतिष्ठान प्रशासनले गम्भिर लापरवाही गरेको आरोप लगाएका छन् । तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको टोलीसहित मर्चरी पुगेको पुगेका थिए । सँगै धरान उपमहानगरपालिकाका मेयर तिलक राई, १८ नं. वडाध्यक्ष प्रविण राईलगायतले कर्मचारीलाई कारवाहीका लागि प्रशासनसँग कुरागर्ने प्रतिवद्धता जनाएपछि आफन्तले शव अन्त्येष्टिका लागि लगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =