चीनबाट आएकालाई १४ दिन निगरानीमा, नेकपामा शक्तिशाली गौतम (आजका पत्रपत्रिका)

माघ २१, काठमाडौं । राजधानीबाट प्रकाशित पत्रपत्रिकाले आज फरकफरक विषयलाई मुख्य समाचार बनाएका छन् । आज कान्तिपुर दैनिकले चीनबाट आएका लाई नोवल कोरोना भाइरसको संक्रमण भएको नभएको पत्ता लगाउन १४ दिन निगरानीमा बस्नुपर्ने छ । सरकारले उनीहरुलाई निगरानीमा राख्ने भएको हो ।   

नागरिक दैनिकले नेकपाको केन्द्रमा गौतम शिर्षकमा समाचार प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन् । विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन् । नेकपामा करिब आठ लाख संगठित सदस्य छन् । 

संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ । उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ । विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ ।   

आजको नयाँ पत्रिकाले बौद्ध स्थित हायात होटलको जग्गा प्रकरणको समाचार प्रकाशित गरेको छ । बौद्धस्थित होटेल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन । सरकार र निजी समूहको संयुक्त लगानी रहेको होटेल हायातको सञ्चालक समितिले गैरकानुनी रूपमा सरकारको सेयर ३९.७७ प्रतिशतबाट ९.०१ प्रतिशतमा झारिदिएपछि समितिले छानबिन गरेर कारबाहीको सिफारिस गरेको थियो । 

सरकारी कागजपत्र किर्ते गरी आफूखुसी निर्णय गरेर राज्यलाई क्षति र्पुयाएको भन्दै संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले गत चैतमा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, तीन सय चार करोडको सम्पत्तिमा सरकारको सेयर ३०.७६ प्रतिशत घट्दा पनि सरकार मौन बसेको छ । बौद्धमा अन्तराष्ट्रिय चेन होटेल हायात निर्माण तथा सञ्चालन गर्ने प्रस्ताव लिएर आएका राधेश्याम सर्राफ र रामलाल श्रेष्ठको समूहले साझेदार बन्न सरकारलाई पनि सहमत गराएका थिए । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्टपेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *