प्रचण्डको आश्वासनपछि वडा अध्यक्ष पौडेलले तोडे अनशन

फागुन १३, चितवन ।  निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका चितवन माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । ७ दिनदेखि अनशनमा बसेका पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुस खुवाएर अनशन तोडाएकी हुन् । 

चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा गराउन आफू लागि परेको र समस्या समाधानका लागि नेतृत्व पनि लिएको भन्दै अनशन तोड्न अनुरोध गरेका थिए ।लगतै उनले हात्तीले मारेका व्यक्तिका परिवारलाई साछी राखेर अनशन तोडेका थिए । 

नेकपा अध्यक्ष प्रचण्ड आफ्नो अभिभावक भएकाले उनको अनुरोधलाई स्वीकार गरी अनशन तोडेको वडाध्यक्ष पौडेलले बताए । 

माडी जाने निकुञ्ज भित्रको सडक चौविसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको द्वन्द्व निवारण गर्नु पर्ने लगायतका ७ बुँदे माग राखेर पौडेल अनशनमा बसेका थिए । अनशनका क्रममा स्वास्थ्य गम्भीर भएपछि भरतपुर अस्पताल भर्ना गरिएको थियो । 

यसअघि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले फागुन ७ गतेबाट आमरण अनशनमा बस्ने घोषणा गरेका थिए । तर उनी अनशन नबसेपछि वडाध्यक्ष पौडेलले अनशन थालेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =