एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरूलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

माघ २८, काठमाडौँ । एनसेल प्राइभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल लगायतका सेवाहरू नेपाली कम्पनीहरूलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।   

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढी प्रतिनिधि तथा अधिकारीहरूका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरू—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउन आफ्नो ध्यान केन्द्रित गर्नेछ । 

अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरूमा प्रभावकारिता थप्दछ र कार्यालयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरू पत्ता लगाउन, ज्ञानहरू बाँड्न, आफ्ना सहकर्मीहरूसँग कुराकानी गर्न देखि लिएर योजनाहरू बनाई प्रशासनिक कामहरूमा लाग्ने समय घटाई चुस्त रूपमा कार्यहरू गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरूले आफ्नो बढी समय अझ नवीन कार्यहरूमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् ।   

त्यसै गरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेजर डेटा सेन्टरहरू मार्फत आफ्ना एप्लिकेसन र सेवाहरू बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आइटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफूलाई मन पर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् । 

त्यस्तै कार्यालयभित्र एकीकृत सञ्चार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नवीन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यालयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यालयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ ।   

उक्त कार्यक्रममा आमन्त्रितहरूलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने,“सहकार्य गर्ने पद्धति व्यापकरुपमा परिवर्तन भइरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरूलाई आफ्नो कार्यालय भवनमा मात्र सीमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तीव्र रूपमा विकास भइरहेको सहकार्य गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरूको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरूका लाति एक रणनीतिक बजार हो ।” 

“नेपालमा रहेका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा क्लाउड सेवा प्रदान गर्ने गरी जनसेलसँग सहकार्य थालिएको हो,” दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्ह फामले भने । “सुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसायहरू लगायतका क्लाइन्टहरुलाई दिने छौँ । यो सहकार्यले नेपालको डिजिटल इकोसिस्टम विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौँ । साथै ग्राहकहरूले हाम्रो सेवाहरू भ्यालु एडेड सर्भिसका रूपमा पाउनेछन् ।” 

यस रणनीतिक सहकार्य पश्चात् गाहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरू र सफ्टवेयर प्रविधिहरूमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन् । यी सेवाहरूले कर्मचारीहरूको उत्पादकत्व बढाउन योगदान गर्नेछ । विभिन्न डिभाइसहरूको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समूह र व्यक्तिहरूलाई रियल टाइममा समन्वय गर्दै  तदारुकताका साथ कार्यहरू गर्न सहजीकरण गर्दछ ।   

विश्वस्तरिय सेवाहरू प्रदान गर्ने र उच्चस्तरको कनेक्टिभिटी र डिजीटाईजेसनको लाभ प्रदान गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम एनसेलले यी सेवाहरू आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो । यी सेवाहरूले नेपालका साना तथा ठुला सबै व्यवसायहरूलाई उनीहरूको लक्ष्य प्राप्ति गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *