‘बाहिर निस्कौँ संक्रमणको डर, ननिस्कौँ कोठामा खाना छैन !’

फाइल तस्विर 

माघ २७, काठमाडौं । ‘कोठाबाट बाहिर निस्कौँ, संक्रमणको डर । ननिस्कौँ, मेरो कोठामा खाना छैन !’ 

माथिको भनाइ चीनको वुहानमा रहेका गौरव पोखरेलको हो, जो वुहानस्थित थोङ्ची मेडिकल कलेजको थोङ्ची अस्पतालमा सर्जरीमा पीएचडी गरिरहेका छन् । उनी अध्ययनका शिलशिलामा चीन गएको १४ वर्ष भयो ।  

Image result for काेराेना भाइरस चीन नेपाली

चीनमा गएको डिसेम्बरदेखि फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण माहामारीको रुपमा फैलिरहेको छ । त्यहाँ कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८ पुगिसकेको छ भने ४० हजार १ सय ७१ जना संक्रमित छन् ।  

चीनमा भाइरसका कारण मृत्यु हुनेमा एक जना जापानका नागरिक र एक अमेरिकी नागरिक पनि रहेको पुष्टि भइसकेको छ । अहिलेसम्म चीनमा रहेका नेपाली नागरिकमा भने संक्रमण नदेखिएको अवस्था छ ।  

कोरोनाको संक्रमण नदेखिँदा पनि नेपाल सरकारले नेपाल लैजान आनाकानी गरेको र नेपालीहरुले पनि आफ्नो ठाउँमा राख्न नदिन विरोध गरेकामा पोखरेलले आक्रोश पोखे । उनले भिडियाे कलमा भने, ‘हामी कोरोना संक्रमित होइनौँ । नेपाली यहाँ स्वस्थ छौँ । चीन सरकारले बाहिर ननिस्कन भनेदेखि हामी बाहिर निस्किएका पनि छैनौँ । हामीलाई संक्रमणको डर छ, छिटो उद्धार गर्नुस् ।’ 

यसअघि नै विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाल लगायतका विभिन्न देशमा पनि कारोनाको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।  

विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण अवधि २ देखि १४ दिनसम्मको हुने र यो बीचमा कोरोना भाइरस जुनसुकै बेला विकसित हुन सक्ने भन्दै ‘चीनबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा २ साता क्वारेण्टाइनमा राख्नुपर्छ’ भनेर स्पष्ट मापदण्ड बनाएको छ ।  

कोरोनाको सन्त्रासले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विश्वका विभिन्न देशहरुले आफ्नो देशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखिसकेका छन् । तर नेपालले भने विभिन्न प्रक्रिया पुरा गर्न बाँकी रहेको भन्दै अभिभावकलाई आश्वासन दिने मात्रै काम गरेको छ ।  

नेपालमा कारोनाबारे भ्रम फैलाइएका कारण स्थानीयले क्वारेण्टाइनको विषयमा विरोध गरेको गौरवले आरोप लगाए । ‘कोरोना विल्कुल नयाँ भाइरस हो । यसको उपचार फेला परिसकेको छैन । यहाँ पनि ज्वरो आयो भने ज्वरोको औषधी तथा लक्षण अनुसार अहिले उपलब्ध भएका औषधी दिइने हो’, गौरवले भने, ‘यो नेपालमा पनि सम्भव छ । कुनै विशेष उपचार आवश्यक छैन । त्यसमाथि हामी स्वस्थ छौँ । दुई÷चार हप्ता क्वारेण्टाइनमा बस्न पनि तयार छौँ ।’ 

चीनमा मास्क पनि सर्टेज भएको र संक्रमणको डरले आफूहरु बाहिर निस्कन समेत नसकेको उनले गुनासो गरे । उनी भन्छन्– ‘मेरो कोठा नजिकै अस्पताल छ । त्यहाँ वरपरको स्टोरमा बिरामीहरु आउँछन् । संक्रमणको डरले म बाहिर निस्कन समेत सकेको छैन । संक्रमणको डर छ । म निदाउन समेत सकेको छैन ।’ 

‘चीनका सबै नेपाली विद्यार्थी कोरोना संक्रमित हुन्, तीनीहरुलाई नेपाल ल्यायो भने सबै नेपालीमा रोग फैलन्छ’ भन्ने भ्रम देखिएका कारण स्वदेश फर्काउन ढिलो भएको उनको भनाइ छ ।  

‘यसको राम्रो उपचार भनेकै भाइरसको संक्रमण हुन नदिनु हो । यहाँ भएका नेपालीहरु यहाँबाट निस्कन खोज्नुको कारण पनि संक्रमणबाट जोगिनका लागि हो । हामीले निवेदन दिएर नाम निस्किएको १५ दिनजति भइसक्यो, तैपनि उद्धार गरिएको छैन’, गौरवले गुनासो गरे ।  

आफूसँग बस्दै आएका विभिन्न देशका साथीहरुलाई उनीहरुको सरकारले उद्धार गरिसकेको नेपालीहरु भने त्रासमा बाँच्नु परेको भन्दै उनले पीडा पोखे ।  

‘हामी बिरामी होइनौँ, तपाईँहरुले बिरामी भनेर अपहेलित गर्दा हाम्रो चित्त दुख्छ । नेपाल पठाउनु अघि संक्रमण देखिए चीनले यतै राख्छ । रोग सर्छ भनेर नेपालीहरु आत्तिनु पर्दैन । हामी पनि नेपाली हौँ, नेपाली भएर बाँच्न पाउने अधिकार हाम्रो पनि छ । हामीलाई चाँडोभन्दा चाँडो उद्दार गरिदिनुस् । हामी मानसिक पीडामा छौँ’, गौरवले भिडियो कलमा भने ।  

नेपालीहरु चीनबाट स्वदेश फर्किए चीन सरकारलाई पनि राहत मिल्ने उनले बताए । त्यहाँ यूनिभर्सिटी तथा कलेजका शिक्षकहरुले पनि स्वदेश नफर्किएको भन्दै चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।   

उनी भन्छन्– ‘शिक्षकहरुले नेपालीहरुप्रति चिन्ता व्यक्त गरिरहनु भएको छ । आफ्नो देश गए हामी सुरक्षित हुन्थ्यौँ कि भन्ने उहाँहरुले महशुष गर्नुभएको छ । नेपाल सरकारले चीन सरकारलाई १ लाख मास्क सहयोग दिनुको ठाउँमा चीनमा भएका नेपाली विद्यार्थीको उद्धार गरिदिएको भए चीनलाई ठुलो सहयोग हुन्थ्यो । नेपाली विद्यार्थी कोरोनाको संक्रमणको त्रासमा रहँदा उसलाई पनि पीर छ ।’ 

०००                    ०००                  ००० 

चीनमा आफ्नो परिवारका सदस्य भएका नेपाली अभिभावकको अवस्था पनि भयवित छ । अभिभावकहरु निकै आत्तिएका छन् । उनीहरुले विभिन्न मन्त्रालय, संघसंस्था समेत गुहारी सकेका छन्, चीनमा रहेका परिवारका सदस्यको उद्धारका लागि ।  

लीलादेवी भट्टराई 

सोमबार दिउँसो ललितपुर महानगरपालिका–१८, नख्खुकी ६० वर्षीय लीलादेवी भट्टराई पनि भावुक देखिन्थिन् । उनको बुहारी जानुका भुसाल भट्टराई चीनमा गाइनोमा एमडी गर्दैछिन् । दुई वर्ष भयो गएको । असारमा पढाई पुरा हुन्छ, जानुकाको । वुहानबाट करिब ५ सय मिटर पर छ, उनको बसाईँ ।  

गएको मंसिर १४ गते लीलादेवीको छोरा डा. समिर भट्टराई र ७ वर्षीया नातिनी पनि चीन गए, जानुकालाई भेट्न । माघको ७ गते नेपाल फर्कनुपर्ने थियो तर कोरोनाका कारण लीलादेवीका छोरा र नातिनी समेत फर्कन पाएका छैनन् ।  

अहिले जानुकाको पनि छुट्टी छ । चीनमा फैलिएको कारोनाको सन्त्रासका कारण उनीहरु नेपाल फर्कन चाहन्छन् । तर आउन पाइरहेका छैनन् । चीनमै बस्न बाध्य छन् ।  

यता लीलादेवी र उनका श्रीमान् पीडामा छन् भने उता छोरा, बुहारीको उस्तै पीर छ ! 

‘मलाई यति पीडा भएको छ कि म व्यक्त गर्न सक्दिन । न राम्रोसँग खान सकेका छौँ, न निदाउन नै । यसो आँखा चिम्लियो, उनीहरुकै झ–झल्को आउँछ’, आँखाभरी आँशु पार्दै लीलादेवीले आफ्नो पीडा सुनाइन् ।  

उता छोरा बुहारी चीनबाट निकाल्न भनिरहेका छन् । रोगको महामारी दिनप्रतिदिन बढिरहेको छ । हजारौँ मान्छेको ज्यान गइसकेको अवस्था छ । कोठामा थुनिएका छन् । बाहिर निस्कन समेत सकेका छैनन्, संक्रमणको त्रासले ।  

‘उनीहरु चीनबाट छिट्टै निस्कन चाहन्छौँ भनिरहेका छन् । रुँदै फोन गर्छन् । कोठामा जे छ, त्यही खाएर बसेका छौँ भनिरहेका छन् । किनमेल गर्न पाउँदैनन् । सानी नातिनी पनि उनीहरुको साथमा भएका कारण हामी झन् तनावमा छौँ । तर नेपाल सरकारले वास्तै गर्दैन’, भावुक हुँदै उनले छोरा–बुहारीको पीडा सुनाइन् ।  

लीलादेवीको जेठो छोरा बुहारी अष्ट्रेलियामा छन् भने छोरीको विवाह भइसक्यो । काठमाडौंमा लीलादेवी र उनको श्रीमान् मात्रै छन् । आफ्ना छोराबुहारी चीनमा स्वस्थ रहेको र छिटो उद्धार गरिदिन उनले सरकारसँग आग्रह गरिन् ।  

‘उनीहरु अहिलेसम्म स्वस्थ छ । संक्रमण देखिएको छैन । अब पनि नल्याए मानसिक तनावले नै उनीहरु बिरामी पर्छन् । आफ्नै देशको नागरिकको उद्धार गर्न पनि कति गाह्रो हाम्रो सरकारलाई ? के उनीहरु नेपाली होइनन् ?’, उनले प्रश्न गरिन् ।  

लीलादेवी छोराबुहारीको उद्धारका लागि अन्य जम्मा भएका अभिभावकसँगै स्वास्थ्य मन्त्रालय पुगिन्, त्यहाँ मन्त्रीले समय दिएनन्् । त्यसपछि राज्यमन्त्रीलाई भेट्न गए, राज्यमन्त्री बोलेनन् । प्रवक्तासँग मात्रै कुरा भयो र उनले छिटो स्वदेश फर्काउने आश्वासन दिए ।  

गृहमन्त्रालयमा पनि पुग्यो अभिभावकको टिम । त्यहाँ पनि ‘चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन पहल गर्दैछौँ’ भन्ने आश्वासन मात्रै आयो । त्यसपछि मानवअधिकारमा गुहार माग्न पुगे । उसले छिटो उद्धार गर्न पत्र पठाइसकेको छ ।  गर्दैछौँ, हामी ल्याउँछौँ भन्ने आश्वासन आयो । मानवअधिकारमा पनि गयौँ । उसले सरकारलाई पत्र पठाइसकेको छ ।  

‘फागुन ३ गते ल्याउने हल्ला सुनेकी छु तर आधिकारिक रुपमा जानकारी पाएकी छैन’, लीलादेवीले भनिन् । चीनबाट नेपाली विद्यार्थी ल्याउने कुरामा स्थानीयले विरोध गरेपछि उनीमा अक्रोश पनि बढेको छ ।  

उनी भन्छिन्– ‘चीनबाट नेपाली विद्यार्थी ल्याउने भन्नेबित्तिकै विरोध किन ? बिरामी भएपनि एउटा कुरा, स्वस्थ छ । उनीहरु नेपाली होइनन् र ? नेपाल आउने, बस्ने अधिकार छैन उनीहरुलाई ? कस्तो मानसिकता नेपालीको ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *