सिभिल बैंककाे मुनाफा घटेपनि लगानीका क्षेत्र बढ्याे,पुस मसान्तसम्ममा ३१ नयाँ शाखा

माघ २८, काठमाडाैं । सिभिल बैंककाे मुनाफा चालू आर्थिक वर्षमा घटेकाे छ । ब्यवसायीक क्षेत्र विस्तार गर्दा पनि सिभिल बैंककाे मुनाफा घटेकाे हाे । गत आर्थिक वर्ष बैंकले ३७ कराेड बढि मुनाफा कमाएकाेमा चालू आर्थिक वर्षकाे पुष मसान्त सम्ममा ३१ करोड ६० लाख मात्र खुद मुनाफा आर्जन गरेको छ । याे मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १५ प्रतिशतले कमी हो । 

बैंकले शाखा विस्तारसँगै अपेक्षाकृत मुनाफा हासिल गर्न नसकेपछि बैंक ब्यवस्थापनमा चुनाैति थपिएकाे छ । गत वर्ष ७१ वटा शाखा मात्र रहेको सिभिल बैंकले याे वर्षकाे पुष मसान्तसम्ममा थप ३१ वटा शाखा विस्तार गरेकाे छ । दीर्घकालीन रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुर्याएकाे बैंकले जनाएकाे छ । साथै बैंकले निकट भविष्यमा अझै थप १७ वटा शाखा खाेल्ने तयारी पनि गरेकाे छ । 

बैंकका अनुसार द्रुत गतिमा शाखा विस्तार गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केहि असर पर्न गएको देखिएको हो । बैंकको नाफा घटेपनि यो क्षणिक मात्र भएको बैंकले जनाएको छ। भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले विस्तारै व्यवशाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गरिएकाे छ । 

सिभिल बैंकमा गत आर्थिक वर्षमा ७ सय ५१ कर्मचारी रहेकामा चालु आर्थिक वर्षमा बढेर ९ सय ५९ जना पुगेका छन । बैंककाे शाखासञ्जाल मात्रै बढेर १०२ वटा पुगेको छ । बैंकले ग्राहक वेसलाई बलियो बनाउँदै लगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ लाख ६७ हजार ३ सय ५९ ग्राहक सदस्य रहेको बैंकको ग्राहक चालु आर्थिक वर्षको सोहि अवधिमा करिब ५४ प्रतिशतले ग्राहक संख्या बढेर ४ लाख १२ हजार ८ सय १९ पुगेको बताइएकाे छ ।   

यसैगरी गत पुष मसान्तमा ४२ अर्ब रहेको निक्षेप चालु आर्थिक वर्षको सोहि अवधिमा २१ प्रतिशतले बढेर ५२ अर्ब पुगेको छ । भने, कर्जा लगानी पनि गत वर्ष ४४ अर्ब रहेकोमा १४ प्रतिशतले बढेर ५० अर्ब माथि पुगेको छ । यस अवभिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले वृद्धि भएर १ अर्ब १९ करोड पुगेको छ । गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड थियो ।   

बैंकले खराब कर्जामा समेत सुधार गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३.५४ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर २.६९प्रतिशत कायम भएको छ । खुद ब्याज आम्दानी सँगै बैंकको संचालन आम्दानी र संचालन मुनाफामा पनि वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले १ अर्ब ३६ करोड कुल संचालन आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ९ प्रतिशले बढी हो । गत वर्ष बैंकले १ अर्ब ३० करोड कुल संचालन आम्दानी गरेको थियो । यस अवधिमा बैंकको संचालन मुनाफा भने २१ प्रतिशतले वृद्धि भएर १ अर्ब ७ करोडबाट १ अर्ब २७ करोड पुगेको छ ।   

बैंकको पुँजीकोष अनुपात घटेपनि लगानी विस्तार गर्ने ठाउँ पर्याप्त रहेको छ । पुँजीकोष १८.९६ प्रतिशतबाट घटेर १५.९२ प्रतिशत कायम भएको छ । कोष लागत ८.२० प्रतिशतबाट घटेर ८.१९ प्रतिशत कायम भएको बैंकको आधार ब्याजदर ११.३१ प्रतिशत बाट घटेर १०.९८ प्रतिशत कायम भएको छ । बैंकको सिसिडि रेसियो ७७.४६ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *