ओलीका विश्वासपात्रको बहिर्गमन, अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन परी, मान्छे हेरेर गाडी भाडा निर्धारण

फागुन ९, काठमाडौं आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामाको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएको समाचार अन्नपूर्णमा छ ।  

दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे । ओली र दाहालबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो । पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए । 

बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि दाहालले प्रधानमन्त्रीसँग भेट्नुअगाडि पार्टी नेतासँग पनि छलफल गरेर बालुवाटार जान उचित हुने ठाने। दाहाल निवास स्रोतले भन्यो, ‘त्यसपछि दाहालले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभयो । सचिवालयका अन्य नेताहरूसँग सम्भव भएसम्म टेलिफोनमा सम्पर्क गर्नुभयो ।’ 

दाहालले गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले टेलिफोनमा छलफल गरे । नेपालले मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिए। वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ र मन्त्री थापाको राय लिएर दाहाल प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे बालुवाटार पुगे । ‘दुई अध्यक्षबीच पार्टी अभियान, बाँकी एकताका काम टुंगो लगाउने लगायतका विषयमा संवाद गर्ने समय बुधबार नै तय गरिएको थियो’, दाहाल निकट एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि यो विषय पनि छलफलमा पर्‍यो ।’ 

ओलीसँगको छलफलमा दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए । ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए । त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो । कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो । 

सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो । कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए । ‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए। मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए । 

सभामखु सापकोटाले कांग्रेस नेताहरूसँग सञ्चारमन्त्रीले राजीनामा दिने अनौपचारिक जानकारी आएको भन्दै संसद् अवरोध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले त्यो आग्रह मानेन। सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओलीलाई भेटे । ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखे । 

सेक्युरेटी पिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले कमिसन मागेको अडियो बुधबार राति सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बाँस्कोटा २०७४ चैत २ मा सञ्चार राज्यमन्त्रीका रूपमा ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए । उनी २०७५ जेठ १८ मा सञ्चारमन्त्रीमा बढुवा भएका थिए । प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई र सहरी मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाडलाई तोकेका छन् ।   

कान्तिपुरले ‘ओलीका विश्वासपात्रको बहिर्गमन’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे,‘म आफू भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागमा टाँसिएको छ । 

त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीवार सार्वजनिक भयो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भए । ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ, समाचारमा छ ।   

प्रधानमन्त्री केपी ओलीले दुई दिनअघि मात्रै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला पुगेर उनको भरपूर प्रशंसा गरेका थिए, नयाँ पत्रिकामा खबर छ ।  ओलीको भनाइ थियो, ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो  । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ । आज देशमा राजनीतिक तुलोमा राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरू सबैजस्तो हुन्छ  । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप्प लाग्ने अवस्था छ ।’ 

मन्त्री बाँस्कोटा र यती होल्डिङ्सका सञ्चालक आङछिरिङ शेर्पा फ्रेन्च कम्पनी आइएन ग्रुपसँग डिल गर्न सँगै पेरिस जाने तयारीमा थिए तर, अघिल्लो १५ फागुनमा पाथीभरामा हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि बाँस्कोटा सरकारी कर्मचारीसँग फ्रान्स पुगेका थिए 

२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’ 

देशमा सुरक्षण मुद्रण ९सेक्युरिटी प्रेस० स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदा सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए । यो घोषणा सेक्युरिटी प्रेस बेचबिखन गर्ने विदेशी कम्पनीका एकजना एजेन्टले सरकारको नीति तथा कार्यक्रममा पार्न लगाएका थिए भन्ने टेबुल ठोक्ने सांसदहरूलाई हेक्का पनि थिएन । आफ्नो ‘स्किम’ सरकारको नीति तथा कार्यक्रममा पार्न सफल स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्र भन्छन्, ‘सेक्युरिटी प्रेस खरिद गर्न सकिन्छ र सबैलाई फाइदा हुन्छ भनेर मैले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई कन्भिन्स गरेँ, त्यसैले नीति तथा कार्यक्रममा यो ‘स्किम’ परेको हो ।’ 

तर, नीति तथा कार्यक्रम लागू गर्न नपाउँदै २३ साउन ०७३ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोकिएको थियो । उता, ‘स्किम’ बनाएका स्विस कम्पनीका एजेन्ट मिश्र उपयुक्त समयको पर्खाइमा थिए । ओली प्रधानमन्त्रीका रूपमा ३ फागुन ०७४ मा सिंहदरबार फर्किएपछि मिश्र आफ्नो कारोबार हुनेमा ढुक्क भएका थिए । विभागीय मन्त्रालय भएकाले उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग संवाद अगाडि बढाए । त्यही संवादको क्रममा मन्त्री बाँस्कोटा स्विस कम्पनी मात्र होइन, जर्मन कम्पनी भेरिडोस र पे्रmन्च कम्पनी आइएन गु्रपसँग पनि बार्गेनिङमा छन् भन्ने मिश्रले थाहा पाए । त्यसैले उनले हतियारका रूपमा बाँस्कोटासँगको प्रत्यक्ष संवाद आफ्नो मोबाइलमा रेकर्ड गरे । त्यही रेकर्ड अहिले सार्वजनिक भएको छ । 

नागरिकले ‘मन्त्री नै यतीको एजेन्ट’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएकी छन्। 

फ्रान्सको आइएन ग्रुपको स्थानीय एजेन्ट यति होल्डिङस् हो। सदस्य चापागाईले बिहीबार समिति वैठकमा बोल्दै २०७६ जेठ ५ मा फ्रान्सेली कम्पनी आइएन ग्रुपलाई लेखेको पत्रमा नेपालको आधिकारिक एजेन्ट यतीका तर्फबाट मन्त्री बाँस्कोटा आफै संलग्न भएर पत्राचार गरेको आरोप लगाइन। 

चापागाइँले मन्त्री बाँस्कोटाले यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गर्नु गम्भीर आपत्तिको विषय भएको बताइन्। मन्त्रीजस्तो पदमा रहेको व्यक्ति यतीको एजेन्टको भूमिकामा देखा पर्नु गम्भीर विषय भएको भन्दै साँसद चापागाइँले यस विषयमा लेखा समितिले विस्तृत रुपमा छानबिन गर्नुपर्ने माग राखिन्। 

समाचार अनुसार  सेक्युरिटी प्रेस स्थापनका लागि फ्रान्सको आइएनग्रुपसँग सरकारले गत फागुनमा एमओयु गरेको थियो। त्यस भन्दा अघि सञ्चारमन्त्री बाँस्कोटा सञ्चार सचिव महेन्द्रमान गुरुङ,  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र यतीका मालिक  स्वर्गीय आङछिरिङ शेर्पा पटक–पटक फ्रान्स र जर्मनी भ्रमण गरेका थिए। लेखा समितिका सदस्यहरुले सेक्युरिटी प्रेसको ठेक्का लिने कम्पनीको स्वार्थमा पटक–पटक सम्बन्धित देशको भ्रमण गर्नुको उद्देश्यको विषयमा कार्यकारी निर्देशक पौडेललाई प्रश्न गरे। 

गोरखापत्रमा लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको समाचार छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भन्नुभयो, “धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ । आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ” उहाँले भन्नुभयो मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउँछ भन्नुभयो । 

उहाँले भन्नुभयो, “भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ । ’’ भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ । 

जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारीसमेत उहाँले दिनुभयो । नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । 

राजधानीमा अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी शीर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । लो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । 

नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंग्रेजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई दंग परे । परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्,‘नमस्कार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’ 

उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन् ।   

सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन्, गोरखापत्रमा समाचार छ ।  जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । 

अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोख्नुभयो । 

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ । अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *