मेरो पहिलो प्रेम नै साहरुख खान: पूजा शर्मा

फागुन २, काठमाडौं । हरेक वर्षको फ्रेबुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ लाई प्रेम गर्ने जोडीहरुको उत्सवको रुपमा लिइन्छ । आजको दिन प्रेम गर्ने जोडी र प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि उत्तिकै महत्वपूर्ण छ । 

नजिक हुने प्रेमी–प्रमिकाहरु भेटघाटमा रमाउँछन् भने टाढा हुनेहरु फोन–म्यासेज मार्फत् प्रेम साटासाट गर्छन् । प्रेम र प्रेम दिवस सम्बन्धी सबैको धारणा अलग–अलग हुन्छ । प्रेमका विषयमा नायिका पूजा शर्मालाई गरिएको १२ प्रश्नः 

आज भ्यालेन्टाइन डे, के छ योजना ?   

त्यस्तो विशेष योजना केही छैन । ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज भएको छ । यही चलचित्रको प्रमोशनमै व्यस्त छु, हुन्छु ।   

प्रेम भनेको के हो ? 

प्रेम एउटा अनुभूति हो । जिउने आधार हो । चाहे आमा बुवासँग होस्, चाहे साथीभाइसँग । चाहे प्रेमी–प्रेमिकासँग होस् । हरकोहीसँग प्रेम हुन्छ । प्रेमविनाको जीवन अपूर्ण मात्रै होइन, कल्पना पनि गर्न सकिन्न । प्रेम छ त संसार छ, प्रेम छैन त केही पनि छैन ।   

प्रेम दिवसलाई कसरी लिनुहुन्छ ?  

प्रेम दिवस प्रेम गर्ने जोडीहरुका लागि विशेष दिन मानिन्छ । तर मलाई प्रेम दिवस त्यति महत्वपूर्ण लाग्दैन । प्रेम दिवसका दिन चाहीँ भयंकर माया गर्ने अनि अरु बेलामा नगर्ने भन्ने हुँदैन । प्रेम एकदिनको लागि मात्रै हुँदैन । अजम्बरी हुन्छ, सधैँभरी हुन्छ ।   

अहिलेसम्म कसैसँग प्रेम भएको छ कि छैन ? 

प्रेम हुन्छ नै । एकोहोरो र दोहोरो भन्ने मात्रै हो ।   

पहिलो प्रेम कहिले र कोसँग भएको थियो ? 

उमेर बढ्दै गएपछि आफूलाई बुझिदिने कोही होस् भन्ने सबैलाई लाग्छ नै । कसैप्रति आकर्षित हुनु स्वभाविक नै हो । स्कूल, कलेज पढ्दा प्रेम हुन्छ नै ।   

तर मेरो त्यस्तो सिरियसली प्रेम कोहीसँग पनि भएन । पहिलो प्रेम १ कक्षामा पढ्दा भएको थियो, त्यो पनि साहरुख खानसँग । त्यति हो ।   

कसैलाई प्रस्ताव राख्नुभएको छ ?  

छैन । मेरो पहिलाे र वान साइडेड प्रेम नै साहरुख खान हो । 

तपाईँलाई प्रस्ताव गर्ने त धेरै होलान् नि ? 

प्रस्ताव आउनु स्वभाविक हो, आउँथे । अझैपनि आउँछन् । कहिलेकाहीँ अचम्म लाग्दा प्रस्तावहरु पनि आउँछन् । कहिलेकाहीँ राम्रा पनि आउँछन् । कहिलेकाहीँ सोच्दै नसोचेको मान्छेबाट पनि प्रस्ताव आइरहेको हुन्छ ।   

भनेपछि अहिलेसम्म भ्यालेन्टाइन मनाउनु भएको छैन ?  

छैन । मलाई भ्यालेन्टाइन त्यस्तो स्पेशल पनि लाग्दैन ।   

प्रेम र यौनलाई कसरी लिनुहुन्छ ? 

प्रेम र यौन जीवनको एक पार्ट हो । यी दुवै जीवनमा आवश्यक कुरा हुन् । प्रेमले मान्छेको भावनालाई शरीरको गहिराइमा पुर्याएर मन–मनको निकटता गराउँछ । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो । 

प्रेम प्रस्ताव आयो भने स्वीकार्नुहुन्छ ?   

प्रेम प्रस्ताव आयो भन्दैमा म स्वीकार गर्दिन । दुई, तीन वर्ष उसलाई बुझ्छु । उसको आनीबानी नियाल्छु । यदि ऊसँग जीवन बिताउन सक्छु भन्ने भयो भने तब स्वीकार गर्छु ।  

प्रेमी अथवा जीवनसाथी कस्तो भइदिए हुन्थ्यो भन्ने सोच्नुभएको छ ?  

साहरुखले गौरी खानलाई जस्तो माया गर्छन्, त्यस्तै माया गर्ने प्रेमी होस् भन्ने चाहना छ । मेरो चाहना, भावनालाई बुझिदिने होस् ।  

प्रेम गर्ने जोडीहरुलाई के भन्न चाहनुहुन्छ ?  

भ्यालेन्टाइन डे राम्रोसँग मनाउनु होला । यो दिन मात्रै होइन, आफ्नो प्रेमी–प्रेमिकालाई सधैँभरी माया गर्नुहोला । पहिले मान्छे चिनेर, मन बुझेर मात्रै प्रेम गर्नुस्, ताकि जिन्दगीभर चलोस् । धोका खानु नपरोस् । एक अर्कालाई जीवनभर साथ दिनुहोला । एकअर्कामा विश्वास बनाइराख्नु होला भन्न चाहन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *