रत्ननगर उवासंघ ‘क’ वर्गमा पदोन्नती
फागुन ७ गते । चितवनको रत्ननगर उद्योग बाणिज्य संघले क वर्गको मान्यता पाएको छ । नेपाल उद्योग बाणिज्य महासंघले रत्ननगरलाई क वर्गको मान्यता दिएको हो ।
गत कार्तिक १५ गतेको महासंघको वैठकले क वर्गमा पदोन्नती गरेपनि पत्र भने बुधवार मात्रै प्राप्त भएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । महासंघको निर्णयसंगै अव रत्ननगरले चितवन उद्योग बाणिज्य संघ, बीरगंज उद्योग बाणिज्य महासंघ, पोखरा उद्योग बाणिज्य संघ, नेपालगंज उद्योग बाणिज्य संघसरहको हैसियतमा पुगेको छ ।
निजी क्षेत्र भएपनि आफ्नो क्षेत्रको आर्थिक,सामाजिक,सास्कृतिक लगायत पक्षको कार्यसम्पादनका आधारमा संघहरुलाई वर्गिकरण गर्दै आएको छ । उत्कृष्ठ कार्यसम्पादनकै कारण रत्ननगर उद्योग बाणिज्य संघ पटक पटक सम्मानित समेत भईसकेको छ । वर्तमान अध्यक्ष रेग्मीको कार्यकालमा समेत संघ सम्मानित भएको थियो ।
रत्ननगर उद्योग बाणिज्य संघले प्रत्येक दुई वर्षमा रत्ननगर महोत्सव गर्दै आएको छ भने रत्ननगरलाई वालश्रम मुक्त नगर वनाउन सेवा प्रदायक संस्थाको भुमिका निर्वाह गरिरहेको छ । त्यस्तै शहिद स्मृती वहुमुखी क्याम्पसको पदेन सदस्य रहने गरेकोमा विधान संसोधन पछि रत्ननगर उद्योग बाणिज्य संघलाई क्याम्पस सभामा रहने व्यवस्था मिलाएको छ । महासंघको क वर्गमा पर्नु ठुलो उपलव्धी रहेको भन्दै अध्यक्ष रेग्मीले यो स्थान सम्म पुर्याउने सवैलाई धन्यवाद समेत दिएका छन् । वि.स. २०५४ सालमा स्थापना भएको रत्ननगर उद्योग बाणिज्य संघको हाल करिव २ हजार ४ सय सदस्य रहेका छन् ।