विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न अनेरास्ववियू (क्रान्तिकारी)को माग

फागुन १५, काठमाडौँ । विद्यार्थी नेताहरुलाई तत्काल रिहाइ र प्रतिवन्ध फुकुवा गर्न अनेरास्ववियू (क्रान्तिकारी)ले सरकारसमक्ष माग गरेको छ ।   

अनेरास्ववियू केन्द्रीय कार्यसमितिले जनयुद्व दिवसको अवसरमा देशव्यापी रुपमा शान्तिपूर्ण ढंगले प्रदर्शन गर्दा वर्तमान सरकारले संगठनका विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाई जेलमा राखेको भन्दै तत्कालै उनीहरुलाई रिहा गर्न माग गरेको हो ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले विद्यार्थीमाथि जबरजस्ती झुठो मुद्दा लगाएर जेल हालेकोमा हिरासतमा राखिएका विद्यार्थी नेताहरुलाई तुरुन्तै रिहाईको माग गरेको हो ।   

विगत केही समयदेखि अनेरास्ववियू (क्रान्तिकारी) संगठनमाथि वर्तमान सरकारले विना कारण प्रतिबन्ध लगाएकोमा पनि संगठनले गम्भीर आपत्ति जनाएको छ ।   

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले सरकारको उक्त कदमप्रति घोर आपत्ति जनाएका छन् । उनले भन,‘२१ औँ शताब्दीमा केपी शर्मा ओलीको सरकारले जनताप्रति राणा शाषनजस्तै व्यवहार गरेको छ, जनताको स्वतन्त्रतामाथि सरकारले दमन गरिरहेको छ । ’   

उनले आफ्नो संगठन बम र हातहतियार बोक्ने संगठन नभएको बताउँदै अनेरास्ववियू (क्रान्तिकारी) ले सदैव विद्यार्थी आन्दोलन र उनीहरुको हकहितको लागि काम गरिरहेको बताएका छन् ।   

उनले मुलुकको शिक्षा क्षेत्रलाई नयाँ प्रविधिसँग जोड्न जरुरी रहेको बताउँदै त्यसतर्फ कदम चाल्नको लागि ध्यानाकषर्ण गराए ।   

संगठनका कोषाअध्यक्ष नरेन्द्र विश्वकर्माले देशव्यापी रुपमा शिक्षालाई निःशुल्क बनाउनुपर्ने आफूहरुको उद्देश्य र माग रहेको बताए । उनले भने,‘निःशुल्क शिक्षाले सम्पूर्ण निम्न वर्ग शिक्षित हुन्छ र योसँगै मुलुकको विकासमा पनि मद्दत पुग्छ ।’   

उनले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको संज्ञासमेत दिए । उनले भने,‘सरकार आफैं भ्रष्टाचारमा लिप्त छ । सरकारले भ्रष्टाचारको अन्त्य गराउनुपर्छ । सम्पूर्ण यूवाको मर्म बुझेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने आजको आवश्यकत्ता हो । त्यसतर्फ सरकारले विशेष ध्यान दिन जरुरी छ ।’ 

‘नेपालको राजनैतिक र शैक्षिक ईतिहास परिवर्तनका विभिन्न कालखण्ड र मोडहरुमा हाम्रो संगठन निरन्तर रुपमा जनविरोधी र राष्ट्रघाती शासकहरुका दमन, जेलनेल, वुट र वन्दुकको प्रवाह नगरी निरन्तर रुपमा देश र जनताको वास्तविक अर्थको राज्य व्यवस्था स्थापना गर्न र नेपालको प्राकृतिक साधन स्रोत र मानव संसाधनलाई जोडेर देश र जनताको वास्तविक जिवनमा आमुल परिवर्तन गर्न सक्ने शिक्षा प्रणालीको स्थापनार्थ अनवरत संघर्षमा रहेको छ ’ विज्ञप्तीमा भनिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =