भक्तपुरमा क्वारेन्टाइन हुनु आपत्तिको कुरा हो : सांसद सुवाल

माघ २८, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा राख्न नहुने बताएका छन् । उनले सो क्षेत्रलाई क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गर्न प्रधानमन्त्री कार्यालय र स्वास्थ्यमन्त्रालयबाट भएको भ्रमणप्रति आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सुवालले त्यस्तो क्यारेन्टाइन घना वस्तिबीच नराखि डब्लुएचओको सिफारिस अनुसारमात्र राख्न सरकारको ध्यानाकर्ष गराएका छन् ।
सुवालले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो मान्छे भनेर कानुनी छुट दिनु हुकुमी शैली र समान्तवाद भएको बताएका छन्।

उनले आजको संसदमा बोल्दै सरकारी जग्गा हिनामिना प्रकरणमा केही महिना अघि नै झुक्याएछ भन्दै मन्त्रीहरुले संरक्षणको भाषा बोलेको आरोप लगाए।
उनले भने, ‘यो नीतिगत निर्णण होइन, यो सुनियोजित काम हो। कानुनको मुखमा बुजो लगाउन काम हो । यो जफत गरिएको होइन अधिक्रमण गरेको जग्गा हो।’ प्रजातन्त्रमा सबैलाई कानुनी कार्बाही गरिनुपर्ने बताउँदै यती समूहलाई दिएको जग्गाको भ्रष्टाचारीलाई कार्बाही हुनुपर्ने उनको भनाइ थियो।








