चार वर्षदेखि रोकिएको वीपी प्रतिष्ठानको दिक्षान्त समारोह हुँदै

फागुन ५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३ औं दिक्षान्त समारोह यहि फागुन २४ गते हुने भएको छ । प्रतिष्ठानमा विभिन्न तहमा चिकित्सा शिक्षा उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई फागुन २४ गते अर्थात ७ मार्चमा दिक्षित गर्ने तयारी भएको हो ।   

प्रतिष्ठानमा डिएम/एमसिएच, पिएचडी, एमडी/एमएस, एमडिएस, एमडिएचए, एमपिएच, एमएस्सी, एमविविएस, विडिएस, विएस्सी नर्सिङ पुरा गरेका विद्यार्थीलाई दिक्षित गरिने प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा।डा। गुरु खनालले बताए । यसैगरी उक्त समारोहमा विएन, विएस्सी एमएलटी र विएस्सी एमआइटी अध्ययन पुरा गरेकालाई पनि दिक्षीत गरिने छ ।   

विगत चार वर्षदेखि हुन नसकेको दिक्षान्त समारोह यसपटक एकै पटक हुँदा विद्यार्थीको चाप बढ्न सक्ने देखिन्छ । उपकुलपति डा. गुरु खनालले २०७२ साल फागुन १ गते १२ औं दिक्षान्त समारोह भएयता दिक्षान्त समारोह नभएको जनाएका छन् ।   

प्रतिष्ठान आफैं आन्तरिक किचलोमा फसेको तथा पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएपछि प्रतिष्ठानको दिक्षान्त समारोह प्रभावित हुँदै आएका थिए । यसपटकको दिक्षान्त समारोह प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हुनेछ । ०७२ सालमा भएको दिक्षान्त समारोहपनि ओलीकै अध्यक्षतामा भएको थियो ।   

यसपटकको दिक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा प्रमुख अतिथि भएर आउने प्रतिष्ठानका उपकुलपति डा. खनालले जानकारी दिए ।   

प्रतिष्ठानले दिक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीहरुलाई फागुन ११ गतेसम्मको समय दिएको छ । उक्त समयावधि भित्र माथि उल्लेखित विषयको पढाई पुरा गरेका विद्यार्थीहरुले अनलाईन फारम भरी तोकिएको शुल्क बुझाएर दिक्षान्त समारोहमा सहभागी हुन सक्नेछन् ।   

विद्यार्थीले दिक्षान्त समारोहको जानकारी पाउन तथा फारम भर्न www.bpkihs.edu मा गएर जानकारी लिन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *