‘ओली सरकार असफल भयो, समाजवादीसँग चाँडै एकता हुन्छ’ महेन्द्र राय यादव

माघ २९, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारमा नजाने प्रष्ट पारेका छन् । मकालु खबरसँगको विशेष कुराकानीमा सांसद यादवले २ नं. प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग राष्ट्रिय सभाको निर्वाचनमा समन्वय भएपनि सरकारमा जाने विषयमा कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।
मधेशवादी दलहरुले संविधान संसोधनको मुद्दा बारम्बार उठाउँदै आएपनि नेकपा सरकारले संविधान संसोधन गर्ने छाँटकाँट नदेखाएकोले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेकोले सरकारमा जाने अवस्थै नरहेको जिकिर गरे । ‘राजपाको गठन र एकता संविधान संवोधन गरी पहिचान सहितको राज्य निर्माण गरिनुपर्छ भनेर भएको हो । संविधानमा भएका उपलब्धीहरुलाई रक्षा गर्दै हाम्रा केही असहमतिका विषयलाई संविधान संसोधन गरेर जानुपर्छ भनेर हामी निर्वाचनमा गएका थियौं । नेकपाको सरकारलाई पनि समर्थन गरेका थियौं । तर, सरकारले संविधान संसोधन र मधेशका मुद्दा संसोधन गर्ने लक्षण अहिलेसम्म नदेखाए पछि हामी सरकारमा गइरहनुको औचित्य देखिएन ।’ यादवले भने ।
उनले उपेन्द्र यादवको समाजवादी पार्टीसँग एकता हुने बताए । समाजवादी र राजपाको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै यादवले मधेशका माग संस्थागत गर्न र सांसद रेशम चौधरीको रिहाईका लागि पनि एकता आवश्यक्ता रहेको प्रष्ट पारे । विगतमा समाजवादी सरकारमा जाँदा पनि राजपासँग केही विषयमा नजिक रहेर सहकार्य भइरहेको बताएका छन् ।

खासगरी संविधान संसोधन र मधेशका मुद्दामा समाजवादीले सरकारमा रहेर दवाव सृजना गर्ने तथा समाजवादीले संसदमा रहेर आवाज उठाउने अनौपचारिक सहमति भएको बताउँदै दुवैले आफ्ना एजेण्डा सरकार सामु प्रस्तुत गर्दा पनि नेकपा सरकारले नसुनेपनि सरकारमा जानुको औचित्य सकिएको बताए । ‘मधेशका मुद्दा, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका राजनीतिक मुद्दा संवोधन गर्न नेकपाको सरकार प्रतिबद्ध भएन । त्यसकारण अब दुई पार्टीविच एकता गरी संसद र सडकबाटै दवाव सृजना गर्नुको विकल्प देखिएन ।’ यादवले भने ।
उनले राजनीतिक मुद्दालाई संवोधन नगरेसम्म मुलुकको विकास हुन नसक्ने जिकिर गरे । ‘द्वन्द्वका समयमा उठेका धेरै राजनीतिक मागहरु संवोधन नभएसम्म स्थायी शान्ति संभव छैन । राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकास हुँदैन ।’ यादवको दावि छ ।
उनले मधेश आन्दोलनका क्रममा विभिन्न मुद्दा लगाइएर जेलमा रहेका नागरिकलाई रिहा गर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उचित उपचार र क्षतिपूर्ती राज्यले दिनुपर्ने माग गरेका छन् । अब राजपा र समाजवादीको एकतापछि मधेशका मुद्दा र संविधान संसोधनको विषयलाई लिएर सदन र सडकमा जाने उनको भनाई छ ।
बर्तमान केपी ओली सरकार असफल भएको बताउँदै यादवले सरकारले जनताका आधारभूत आवश्यक्ता पुरा गर्न नसकेको, महंगी, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसकेको बताए । नेकपा सरकारले ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई जोगाएर विरोधीलाई मात्र मुद्दा दायर गर्न लगाएको विषयमा उनले अख्तियार स्वतन्त्र संबैधानिक निकाय रहेकोले उसले गरेको काम प्रति कसैले टिप्पणी गरिरहन जरुरी नरहेको बताए ।
साथै अदालतमा गएको विषयमा अदालतको फैसला नआएसम्म बोलि हाल्न नहुने बताए । ‘अख्तियार संबैधानिक निकाय भएकोले उसले अध्ययन अनुसन्धान विना मुद्दा दायर गरेन होला । र, अदालतमा मुद्दा दायर गर्ने वित्तिकै कोही दोषि हुनेपनि हैन । सफाइपनि पाउन सक्छ, त्यसकारण अहिले नै अदालतमा गइसकेको विषयमा बोल्नु ठिक हैन ।’
सांसद महेन्द्रराय यादवसँगको विशेष कुराकानी केही समयमा








