‘आइटीको समुचित विकास गर्न सरकारले पूर्वाधार तयार गरिदिनु पर्छ’

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले यहि फागुन २ गतेदेखि २६ औं संस्करणको क्यान इन्फोटेक आयोजना गर्दैछ । नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो ।   

क्यान महासंघका अध्यक्ष नवराज कुँवरका अनुसार यस पटकको इन्फोटेक नेपाली इन्नोभेसनका लागि एक्सपोजर इभेन्ट हुनेछ । क्यान इन्फोटेकको तयारी, उद्देश्य, संभावना, चुनौति र विकासका बारेमा क्यान महासंघका अध्यक्ष कुँवरसँग गरिएको कुराकानीको संक्षेपः   

२६ औं क्यान इन्फोटेकको तयारी कस्तो हुँदैछ ?   

नेपालकै बृहद् इन्फोटेकको तयारी द्रुत गतिमा भइरहेको छ । स्टलहरु बुकिङ भइसकेका छन् । स्पोन्सर, कोस्पोन्सर लगायत आइसक्नु भएको छ । केहि दिनपछि इन्फोटेक भृकुटीमण्डपमा स्टल निर्माणको कामसँगै प्रचारप्रसारको काम सुरु हुनेछ । 

विगतको क्यान इन्फोटेक र यस पटककोमा के फरक छ ?   

सुचना प्रविधिको क्षेत्रमा क्यानले आयोजना गर्ने इन्फोटेक सबैभन्दा ठूलो कार्यक्रम हो । केहि वर्षयता अन्य संस्थाले पनि इन्फोटेक गर्न थालेकाले मासको हिसाबले कमी देखिएपनि इन्नोभेसनको हिसाबले यो इन्फोटेक सबैभन्दा ठूलो हो ।   

यो इन्फोटेकलाई इन्नोभेसन एक्पोजरका रुपमा लिएका छौं । आइटी क्षेत्रमा स्वदेशमा भएका प्रगति र उपलब्धीलाई इन्फोटेकमा देख्न पाइन्छ । इन्नोभेसन, स्टार्टअप, सफ्टवेयर डेभलपमेन्टसँगै नेपालको इन्जिनियरिङ शिक्षा प्रतिको पाटोलाई यस पटकको इन्फोटेकमा फोकस गरेका छौं ।   

इन्फोटेकको उद्देश्य ब्यापार बृद्धि गर्ने होकी, सुचना प्रविधि जानकारी गराउने हो ?   

पहिलो कुरा ६ दिनको प्रदर्शनीमा के नाफा हुन्छ र ? दोस्रो कुरा प्रर्दशनीमा आउँदा अवलोकन कर्ताले सामान किन्नकै लागि पैसा बोकेर आएका पनि हुँदैनन् । मुख्य उद्देश्य भनेको सुचना र प्रविधिका क्षेत्रमा भएका नविनतम विकास, नेपालमा भएका उपलब्धीलाई जनता माझ पुर्याउने हो ।   

इन्फोटेकमा आउने लक्षित वर्ग कुन हुन् ?   

आइटीको आवश्यक्ता जुनसुकै वर्ग उमेर समुहलाई भएपनि विशेषतः विद्यार्थीहरु हाम्रा प्रमुख अवलोकनकर्ता हुन् । यसका साथै, आइटी क्षेत्रमा काम गर्नेहरु, पछिल्लो समय सरकारी कार्यालयमा पनि आइटीको प्रयोग बढेको हुनाले सरकारी कर्मचारी तथा स्टेक होल्डरहरु पनि हाम्रा लक्षित वर्ग हुन् ।   

मोवाइल ग्याजेट्समा रमाउने विद्यार्थीहरुले इन्फोटेकबाट कस्तो फाइदा लिन सक्छन् ?   

५०÷५५ वर्ष पार गरेको नागरिकले सुचना र प्रविधिको टोटल्ली प्रयोग गर्न सक्दैनन् । उनीहरुले आफुलाई जति आवश्यक छ त्यत्ति मात्र प्रयोग गर्ने हो । विद्यार्थी भनेको सुरुवात बाटै आइटीमा लाग्ने उमेर र भोली देश चलाउने जनशक्ति पनि हुन् । विकासको ठूलो क्षेत्र शिक्षा भएको र आइटी शिक्षासँग सम्बन्धित भएकोले आइटी शिक्षालाई तलैबाट उठाएर लैजान पनि विद्यार्थीलाई फोकस गरिएको हो ।   

आइटीको क्षेत्रमा राज्यले अंगिकार गरेको नीति तथा कार्यक्रम कस्तो छ ?   

हिजोको दिनमा आइटी क्षेत्रको विकास र विस्तारमा राज्यको भूमिका खासै नभएपनि पछिल्लो समय केहि गर्न खोजेको छ । राज्यले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्दा आइटीलाई एउटा स्टेक होल्डरको रुपमा राखेको छ । राज्यले स्थानीय, प्रादेशिक र संघिय तीनै तहमा आइटीलाई प्रयोग गर्न थालेको छ । डिजिटल नेपालको फेमवर्क भित्रका शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार जस्ता आठ वटा क्षेत्रलाई प्रविधिमैत्री बनाउन ८० वटा विषयहरु समावेश गरेकोमा क्यान इन्फोटेकलाई पनि जोडेको छ । सरकारले लक्षित गरेको कार्यक्रम पुरा भएमा नेपालको आइटी क्षेत्रमा केही वर्षभित्र ब्यापक परिवर्तन हुन्छ ।   

अझैपनि सरकारी निकाय आइटीमा नगईसकेको अवस्थामा सरकारले ल्याएको डिजिटल नेपालको सपना पुरा कसरी होला ?   

लक्ष्य लिएपछि पुरा नगर्ने भन्ने हैन । मुख्य कुरा आइटीका सन्दर्भमा सेवा दिने र लिने दुवैमा चेतना भने हुनुपर्छ । राज्यको विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीहरु एउटा एज पार गरीसकेका अवस्थामा उनीहरुले सुचना प्रविधि सिकेर कत्तिको काम गर्न सक्छन् भन्ने मुख्य कुरा हो । सरकारले सेवा दिने ठाउँलाई दक्ष बनाउनु पर्छ र सेवा लिनेले पनि प्रविधिलाई समात्नुपर्छ ।   

नयाँ पुस्ता फोरजी र फाइभजीमा गइसक्दा पुरानो पुस्ताले आइटी भनेको के हो भन्दा थाहै छैन भन्यो भने सरकारको नीति तथा कार्यक्रम सफल हुँदैन । त्यहि भएर हामीले सरकारले विद्यालय तहबाटै आइटी शिक्षालाई लागू गर्नुपर्छ र वयस्क नागरिकका लागि टोलटोलमा सुचना प्रविधि साक्षरता अभियान चलाउनुपर्छ भनेर सुझाव दिएका छौं ।   

विद्यालयमा समयमा पाठ्यपुस्तक समेत पुर्याउन नसक्ने सरकारले कक्षा कोठामा आइटी शिक्षा पुर्याउँछ भनेर कसरी विस्वास गर्ने ?   

विद्यालय तहमा जुन सात आठ वटा विषय छ नी, त्यसमा एउटा आइटीलाई जोडेर लग्न त सक्छ नी । सुचना प्रविधि विषय राखेर त्यसलाई अनिवार्य गर्न सकिन्छ । मुख्य कुरा राज्यसँग स्पष्ट नीति हुन जरुरी छ ।   

नेपालमा सुचना र प्रविधिको विकास कुन स्तरमा भइरहेको छ ?   

मोवाइल र ब्रोडब्याण्ड वाहेक अन्य क्षेत्रको विकास खासै हुन सकेको छैन । आइटीको समुचित विकास गर्ने हो भने सरकारले पूर्वाधार तयार गर्दिनुपर्छ । कतिपय गाउँपालिकामा इन्टरनेट, टेलिफोन पुगेको छैन । सरकारी निकाय डिजिटल भइसकेका छैनन । हामी संसारको सबैभन्दा महंगो इन्टरनेट प्रयोग गरिरहेका छौं ।   

इन्टरनेटमा सबै नागरिकको पहुँच पुर्याउनु पर्छ । त्यसपछि मात्र नीजि क्षेत्रबाट सुचना प्रविधिको क्षेत्रमा विकास गर्न प्रयास हुन्छ ।   

नेपालमा सफ्टवेयरको विकास भएपनि त्यसलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन राज्यले नीति बनाउन सकिरहेको छैन । कतिपय विदेशी ठूला कम्पनीहरु आइटी क्षेत्रमा काम गर्न आउन चाहिरहेका छन् तिनलाई निश्चित अवधि तोकिदिएर लगानी गर्न दिए ठूलो फाइदा हुन्छ । ठूला विदेशी कम्पनी नेपालमा ल्याउने हो भने सुचना प्रविधिको क्षेत्रमा काम गर्ने युवा जनशक्तिहरु बाहिरिने क्रम घट्छ । साथै विदेशी ठूला कम्पनीमा काम गर्ने नेपाली युवाहरु पनि स्वदेश फर्कने आधार तय हुन्छ । पछिल्लो समय नेपालमा रोजगारीको संभावना खोज्ने भनेकै आइटी हो ।   

आइटीको क्षेत्रमा विदेशी लगानी ल्याउन के बाधक छ ?   

कसैले डेल कम्पनीको ४० इन्चको मनिटर ल्यायो भने त्यसलाई टेलिभिजनको भन्सार रेट लगाइन्छ । टिभी के हो र मनिटर के हो ? छुट्याउन सक्ने मेकानिजम हामीसँग छैन । सफ्टवेयर कम्पनी खडा गर्न पनि स्वदेशमै कसैले कम्पनी खडा गर्न चाहन्छ वा विदेशी कम्पनी ल्याउन चाहन्छ भने राज्यले न्यूनतम सुविधा समेत दिएको छैन । आइटी क्षेत्रको विकास गर्ने हो र विदेशी लगानी भित्र्याउने हो भने हाम्रो नीति तथा कानुन सुधार्न जरुरी छ । 

नेपालको मात्र लगानीले आइटी क्षेत्रको विकास हुन सक्दैन, विदेशी लगानी ल्याउन सक्नुपर्छ । विदेशी लगानी ल्याउने सन्दर्भमा सहुलियत सँगै कर निती समेत सुधार्नु जरुरी छ । 

नेपालको विकासमा आइटी क्षेत्रलाई कसरी लिएर जान सकिन्छ ?   

कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको बराबरी विकास हुनु जरुरी छ । एउटाको मात्र विकास गर्छु भनेर हुँदैन । सबै क्षेत्रको समान विकास गर्ने हो भने आइटीलाई टुल्सको रुपमा प्रयोग गरेर लैजानुको विकल्प छैन । पर्यटन भ्रमण वर्ष चलिरहेको छ, नेपालका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा आइटीलाई प्रयोग गरेर लैजान सकिन्छ । कृषि, उद्योग, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा आइटीको आवश्यक्ता छ । बाटोले भन्दा प्रविधिले चाँडो विकास हुन सक्छ । हामीसँग दक्ष जनशक्ति भएपनि प्रविधिको आवश्यक्ता भएकोले प्रविधिको विकासमा राज्यले पूर्वाधार तयार गर्नुपर्छ ।   

क्यान महासंघले राज्यलाई कस्ता सल्लाह सुझाव दिइरहेको छ ?   

आइटी क्षेत्रको विकास र विस्तारका लागि हामीले स्थानीय सरकार, प्रदेश सरकार देखि केन्द्र सरकारसमेतलाई सल्लाह सुझाव दिइसकेका छौं । क्यान महासंघमा नयाँ नेतृत्व आइसकेपछि प्रधानमन्त्रीज्यूलाई समेत भेटेर आइटीको क्षेत्रमा यो–यो काम हुनुपर्छ भनेर सुझाव दिएका छौं । हामीले न नियम बनाउन सक्छौं नत कार्यान्वयन नै गर्न । हामीले सल्लाह सुझाव दिने, सचेतना फैलाउने मात्र हो, जुन २७ वर्षदेखि गर्दै आएका छौं ।   

नेपालमा आइटी क्षेत्रमा निजी क्षेत्रले जति विकास गरेको छ सरकारी क्षेत्रबाट भएको छैन । सरकारी निकायसँग विभाग र शाखा नै नभएको बेला हामी क्यान स्थापना गरेर आइटीको विकासमा लागेका हौं ।   

यस पटकको इन्फोटेकको नयाँ विशेषता के हो ?   

मैले अघि नै भनिसके, यस पटकको क्यान इन्फोटेकको विशेषता भनेको स्टार्टअप इन्नोभेसन हो । इन्जिनियरिङ विषय पढेका विद्यार्थीहरुले आफुले डेभलप गरेका प्रोजेक्टहरु प्रदर्शन गर्नेछन् । नेपालभित्र पनि सुचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति छ भन्ने यसपटकको इन्फोटेकले देखाउनेछ । 

इन्फोटेकमा कस्ता नेपाली कम्पनीले भाग लिइरहेका छन् ?   

नेपाली सफ्टवेयर कम्पनी र इन्नोभेसन कम्पनीहरुले सहभागीता जनाउँदैछन् । त्यस्ता नेपाली कम्पनीको संख्या करिब ४० देखि ५० वटा सम्म हुन्छ । यो वाहेक अन्य विदेशी ब्राण्डेड कम्पनीले सहभागिता जनाउनेछन् । 

क्यान इन्फोटेकमा सुचना र प्रविधिको प्रर्दशनीसँगै अन्य के कार्यक्रम छन् ?   

इन्फोटेकबाट विश्वबजारमा आएका नयाँप्रविधि सँगै नेपालमा रहेका प्रविधिका बारेमा अवलोकनकर्ताले प्रत्यक्ष जानकारी हासिल गर्न पाउने छन् । साथै, नेपालमा आइटी क्षेत्रको संभावना, आवश्यक्ता र चुनौतिका विषयमा विभिन्न स्टेक होल्डर, विज्ञहरुसँग अन्र्तरक्रियात्मक कार्यक्रम हुनेछ ।   

इन्फोटेकमा आउने अवलोकन कर्तालाई के कस्तो सुविधा छ ?   

इन्फोटेकमा आउन चाहने महानुभावले डिजिटल माध्यमबाटै मोवाइल एप मार्फत टिकट काट्न सक्नुहुन्छ । यसका अलावा गेटमा क्यास मेसिन राखेका छौं जहाँबाट क्यास हालेर टिकट पाउन सक्नुहुन्छ । पत्रकार, सरकारी विद्यालयका विद्यार्थी, जेष्ठनागरिक, अपाङगहरुलाई निःशुल्क प्रवेशको ब्यवस्था गरेका छौं । अन्यलाई रु १ सय रुपैया र विद्यार्थीका हकमा रु ५० शुल्क लाग्नेछ ।   

यो इन्फोटेकमा किन सहभागीता जनाउने ?   

यो नेपालकै ठूलो इन्फोटेक भएकोले एकै छानामुनी अवलोकनकर्ताले सबै कुराको ज्ञान लिन सक्छन् । सुचना र प्रविधिका क्षेत्रमा भएका नविनतम जानकारी हासिल गर्न सकिन्छ । ब्यापारीहरुले पनि नयाँ ग्राहक पाउने थलो हुन्छ । त्यसकारण सबैले इन्फोटेकमा अवलोकन गर्न जरुरी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *