प्रधानमन्त्री रोजगार कार्यक्रम : पहिलो चरणमा २ अर्ब निकासा

फागुन २, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तरगत यस आर्थिक वर्षको पहिलो चरणमा २ अर्ब रुपैंया निकासा भएको छ ।   

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा ६ सय २३ स्थानीय तहलाई २ अर्ब रुपैंया रकम निकासा गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले यस आर्थिक वर्षमा ४ अर्ब ८२ करोड ३२ लाख रुपैंया विनियोजन गरेको थियो । जसमध्ये २ अर्ब ६२ करोड रुपैंया विश्व बैंक (आइडीए)बाट ऋण सहयोग पाउने साथै २ अर्ब २० करोड ३२ लाख रुपैंया सरकारले आन्तरिक श्रोतबाट लिइने पनि जनाएको छ ।   

विनियोजित बजेटमध्ये माघ मसान्तसम्ममा मन्त्रालयले ६ सय २३ स्थानीय तहलाई न्युनतम १० लाखदेखि अधिकतम ७५ लाखसम्म छुट्याएर बजेट निकासा गरेको हो । 

बाँकी स्थानीय तहले भने हालसम्म पनि योजना छनोट गरी नपठाएका कारण अर्को चरणमा माग भई आएका आयोजनाहरुको मूल्यांकन गरी स्थानीय तहमा बजेट पठाइने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । 

स्थानिय तहले सो अनुदानका लागि शर्तहरुको दायरमा आउनु पर्ने पनि मन्त्रालयले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *