भारतले पाम तेल माथिको प्रतिबन्ध हटाउँदा नेपाली उद्योगलाई राहत

माघ २५, काठमाडौं । भारतले पाम तेल माथिको प्रतिबन्ध फुकुवा गरेको छ । सरकारले नेपालबाट पाम (ताडी) तेल भारत निर्यात गर्न पाउने गरी प्रतिवन्ध फुकुवा भएको जनाएको छ । 

एक भारतीय आयतकर्ताले नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न अनुमति पाएको उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले जिकिर गरेका छन् । उनले बिहीबार भारतीय एक आयातकर्ताले लाईसेन्स पाएको बताउँदै अब अरुले पनि पाउने बताए ।   

नेपाल सरकारले भारतलाई माघ दोस्रो हप्ता पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन औपचारिक आग्रह गरेको थियो । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा अत्याधिक रहेको छ । 

गएको पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो । 

भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख थियो । 

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली व्यापारी मर्कामा परेका थिए । नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग छन् । नेपाली उद्योगमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी पाम तेल प्रशोधन उद्योगमा लगानी छ । यी उद्योगमा ११ हजार जनाले रोजगारी प्राप्त गरेको अनुमान छ । 

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएकोमा भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको भन्सार तथ्यांक छ । भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् । 

पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकलगायतका सामाग्री बनाउन प्रयोग हुन्छ । इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने एक प्रकारको वनस्पतिजन्य तेल नै पाम हो । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *