कुखुराका चल्लामा एक सातामा १२ करोड लुट

फागुन ७, काठमाडौं । ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको छ । संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको हो । 

यस हिसाबले संघमा आबद्ध उद्योगले किसानबाट मासिक ४९ करोड रुपैयाँ नाफा लिएका छन्। संघले माघ १८ गते ब्रोइलरतर्फको प्रतिगोटा चल्लाको मूल्य ७० रुपैयाँ तोकेको छ । कुखुरापालक किसानले प्रतिगोटा ७५ रुपैयाँमा खरिद गरिरहेका छन् । माघ १० मा संघले चल्लाको मूल्य ४० रुपैयाँ तोकेको थियो । 

संघमा आबद्ध तीन सय आठ ह्याचरी उद्योगबाट एक सातामा ३५ लाख चल्ला उत्पादन हुन्छ । यसलाई ४० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड रुपैयाँ आम्दानी हुन्छ । तर संघले सिन्डिकेट कायम गरी ७५ रुपैयाँ मूल्य तोकेर किसानबाट एक सातामा सवा १२ करोड रुपैयाँ असुल गरेको राष्ट्रिय कुखुरा पालक संघर्ष समितिको आरोप छ ।अन्नपूर्णमा समाचार छ ।  

ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल भने संघले चल्लाको बिक्री मूल्य नतोकेको दाबी गर्छन् । संघले चल्ला उत्पादक उद्योगलाई ७० रुपैयाँ घटीमा बिक्री नगर्न धम्की दिएको छ। पोखरेलले ५५ देखि ६५ रुपैयाँमा चल्ला बिक्री भइरहेको दाबी गरे । ‘संघले चल्लाको मूल्य तोक्दैन’, उनले भने, ‘चल्ला उत्पादक उद्योगले लागत मूल्यअनुसार मूल्य तोक्ने गरेका छन् । हामीले यही मूल्यमा चल्ला बिक्री गर्न दबाब दिएका छैनौं ।’ 

संघले चल्लाको मूल्य माघ ११ मा दोस्रो पटक प्रतिगोटा ५० रुपैयाँ र माघ १४ मा तेस्रो पटक प्रतिगोटा ६० रुपैयाँ तोकेको थियो । राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका अध्यक्ष विष्णु खड्काका अनुसार देशभर ७५ रुपैयाँभन्दा कम मूल्यमा चल्ला खरिद गर्न पाइँदैन। सोही चल्ला दाङमा ९० र पोखरामा ८० रुपैयाँ पर्छ । 

‘सिन्डिकेट नभएको भए ४० देखि ४५ को हाराहारीमा चल्ला खरिद गर्न पाउनुपर्ने हो’, खड्काले भने, ‘तर ह्याचरी संघ, दाना उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघको मिलेमतोमा प्रतिचल्ला ७५ मा पुगिरहेका छन् ।’  

समितिका अनुसार एउटा चल्लाको लागत मूल्य ३५ रुपैयाँ मात्रै पर्छ । खड्काले दाना उत्पादक उद्योग संघ, ह्याचरी उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघको मिलेमतोमा साना किसानलाई विस्थापित गराउने खेल सुरु भएको आरोप लगाए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *