सिन्धुपाल्चोकको जुगलमा कोरोना भाइरसको आशंका, एउटै बस्तीका ८४ जना बिरामी

माघ २९, काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंंका गरिएको छ । जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा बस्तीमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको आशंका गरिएको हो । 

साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ को गुम्बा बस्तीमा कोरोना भाइरससँग मिल्ने रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने लक्षण भएका बिरामी फेला परेको गाउँपालिकाले जनाउँदै आवश्यक सहयोगको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ । चार दिनदेखि फैलिएको रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने तथा वान्तासमेत हुने भएपछि गाउँपालिका नै अत्ताल्लिएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले गुम्बा बस्तीमा चार दिनदेखि ८४ जनालाई संक्रमण देखिएको बताइन् । ‘विगत चार दिनदेखि गुम्बा बस्तीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीको संक्रमण फैलिएको छ, बस्तीमै रहेको आधारभूत स्वास्थ्य चौकीले पनि रोग नियन्त्रण गर्न सकेको छैन । कारोना भाइरसको बारेमा सामान्य जानकारी भएकाले कतै कोरोना भाइरसकै संक्रमण त भएन भन्ने चिन्ता लागेको छ ।’ उनले भनिन् ।   

तामाङदे आज जिल्लाबाट स्वास्थ्य टोली बस्तीतर्फ पठाउने तयारी भएको तथा विशेषज्ञसहितको स्वास्थ्य टोली माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाईएको पनि जानकारी दिइन् । जिल्लाकै दुर्गम क्षेत्र पर्ने जुगल गाउँपालिका गुम्बा बस्तीसम्म सामान्य यातायातको मात्र सुविधा छ । सो क्षेत्रमा स्वास्थ्य चौकीबाहेक अन्य नीजि स्वास्थ्य संस्थासमेत नभएकाले संक्रमणको जोखिम उच्च रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *