उड्न लागेको विमान अवरोध गरी हेलिकप्टर तोडफोड गर्ने युवक पक्राउ

  

माघ २०, भोपाल । भारतको मध्यप्रदेश राज्यको भोपालमा आइतबार एक युवक विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै रन–वे सम्म पुगेका छन् । 

२१ वर्षीय युवक योगेश त्रिपाठी सुरक्षा व्यवस्थालाई चुनौती दिँदै विमानस्थलको पार्किङ र रन–वेसम्म पुगेका हुन् । उनलाई सुरक्षा निकायले गिरफ्तार गरेको छ । 

स्थानीय समयानुसार अपराह्न करिब ५ बजेको समयमा रन–वेमा पुगेका उनले त्यसअघि पार्किङ क्षेत्रमा रहेको राधास्वागी सत्सङ्गको हेलिकप्टर ‘अगस्ता एडब्ल्यु–१३९’ मा तोडफोड गरेका थिए । 

उनले हेलिकप्टरमा ढुङ्गा हानेर सिसा फुटाएको र अगाडिको भागमा क्षति पु¥याएको बताइन्छ । 

लगत्तै उनी रन–वेमा पुगेर भोपालबाट उदयपुरतर्फ जान लागेको स्पाइस जेटको विमान अगाडि पुगे । रन–वेमा गुडिरहेको उक्त विमानको अगाडि ती युवक उभिएपछि पाइलटले आकस्मिक ब्रेकको मद्दतमा विमानलाई रोकेका थिए । 

विमानस्थलमा आतङ्क 

योगेशले रन–वेमा रोकेकै विमान स्पाइस जेटमा सवार एक पत्रकारले विमानभित्रको अवस्थालाई सविस्तार वर्णन गरेका छन् । भारतीय अखबार ‘दैनिक जागरण’का पत्रकार अमन नम्रका अनुसार उनी स्पाइस जेटको उडान एसजी ३७२१ मा सवार थिए, जो स्थानीय समयानुसार साँझ ५ः५० मा उड्नुपर्ने थियो । 

५ः३६ बजे यात्रीहरु विमानतर्फ जाँदै थिए । त्यतिबेला आफूले बायाँतर्फ पार्किङमा रहेको एउटा हेलिकप्टरमा चढेर एउटा युवकले केही हरकत गरिरहेको देखेको पत्रकार अमनले जनाएका छन् । 

‘केहीबेरमा हामी विमानमा चढ्यौँ, सबै यात्रीले सुरक्षा पेटी बाँधिसकेका थियौँ,’ उनले भने, ‘विमानको ढोका बन्द भयो र पाइलटले विमानलाई पार्किङ एरियाबाट रन–वेतर्फ लगिरहेका थिए ।’ 

करिब तीन मिनेटपछि ठूलो झट्काका साथ विमान रोकिएको उनले बताए । पाइलटले सबै यात्रीलाई सिटमा बसिरहन निर्देश गरेको र एक मिनेटपछि नै इन्जिन बन्द भएको उनको भनाइ छ । 

करिब दुई–तीन मिनेटसम्म रन–वेमा हलचल भएपछि विमानलाई पुनः सुरक्षा जाँचका लागि पार्किङ क्षेत्रमा लगिएको र सबै यात्रुलाई फेरि सुरक्षा जाँच गरी विमानमा राखिएको उनको भनाइ छ । 

ती युवकले किन विमानस्थल सुरक्षा व्यवस्थालाई चुनौती दिए र उनको उद्देश्य के थियो भन्ने प्रष्ट भइसकेको छैन । उनीसँग सोधपुछ भइरहेको सुरक्षाकर्मीले जनाएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *