रंगशालाका लागि एक करोडको जग्गा दान

माघ २६, चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा जग्गा व्यवसायी बामदेब गौलीले व्यक्तिगत सबैभन्दा धेरै दान गरेका छन् ।
उनले १ करोड १२ लाख बाराबरको जग्गा दान गरेका हुन् । भरतपुर महानगरपालिका ११ मा रहेको ७२ लाख बराबरको जग्गा र रत्ननगर नगरपालिका १० जमुनापुरमा रहेको ४० लाख बराबरको जग्गा उनले दान गरेको बाग्मती प्रदेशका सांसद तथा धनधान्याचल महोत्सव संयोजक बिजय सुवेदीले जानकारी दिए ।
व्यक्तिगत रुपमा दान गर्ने दातामध्ये गौलीले सबैभन्दा धेरै रकम बराबरको दान गरेको उनले बताए । गौलीलाई समापनको दिन बिशेष सम्मान गरिने आयोजकले जनाएको छ । आज (आइतबार) आठौं दिन पनि धनधान्याचल महोत्सव स्थलमा सहभागी जनाउने र दान गर्ने दाताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

शनिवारसम्म ३० करोड बढि आर्थिक संकलन भइसकेको छ । आयोजकले ५० करोड आर्थिक संकलन गर्ने लक्ष्यका साथ महोत्सव संचालन गरेको हो । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् ।
महोत्सवको भोली समापन गरिनेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।








