सरकारको दुई वर्ष : आक्रामक योजना, फितलो कार्यान्वयन, विश्व अर्थतन्त्रमा कोरोना कहर, नेपाली ल्याउन चीन जाँदै जहाज

फागुन ३, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले सरकारले दुई वर्ष पूरा गरेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारले दुई वर्ष पूरा गरेको समाचार आजको नयाँ पत्रिकामा छ । संघीयता कार्यान्वयनको चुनौती सामना गर्दै महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षाअनुरूप परिणाममुखी काम भने गर्न सकेको छैन ।   

प्रधानमन्त्री केपी ओलीले दुई छिमेकी देशसँग रेलमार्गबाट जोडिनेदेखि ध्वजाबाहक पानीजहाज समुद्रमा कुदाउनेसम्मका महत्वाकांक्षी नारा अगाडि सार्दै कार्यकालको सुरुवाती दिनमा निकै चर्चा बटुले । तर, दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकारसमेत लिन सकेका छैनन् ।  पानीजहाजको सपना कार्यालयमै कैद छ । रेलको उपलब्धि सुस्त गतिमा छ । अरू धेरै मुद्दामा पनि सरकारको प्रस्तुति कमजोर देखिएको छ । सरकार गठन भएलगत्तै सुरु भएका कतिपय राम्रा कामले पनि निरन्तरता पाउन सकेका छैनन् ।   

श्रमिकको हितमा सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमले पनि अपेक्षाकृत गति लिन सकेको छैन । सामाजिक सुरक्षा कोषका अनुसार गत बिहीबारसम्म एक लाख ४७ हजार ६ सय ४३ श्रमिक कार्यक्रममा जोडिएका छन् । जब कि निजी क्षेत्रमा औपचारिक रूपमा कार्यरत श्रमिकको संख्या मात्रै ३२ लाखभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागको रेकर्ड छ । यसबाहेक अनौपचारिक क्षेत्रमा त्यसको कैयौँ गुणा श्रमिक आबद्ध छन् ।   

समाचार अनुसार, बेरोजगारलाई न्यूनतम रोजगारी दिने उद्देश्यसहित सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि दुरुपयोग भएको गुनासो जनस्तरबाटै आयो । गत वर्ष यो कार्यक्रमका लागि स्थानीय तहमार्पmत खर्च गर्ने गरी दुई अर्ब ३६ करोड विनियोजन गरिएको थियो । आर्थिक वर्षको अन्तिममा विनायोजना र तयारी मकैबारी खन्नेदेखि फूलबारी गोड्नेसम्मका काममा सरकारी रकम खर्च गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा लगानी भएको पैसामा पनि अनियमितता भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।   

संघीयता कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, कनेक्टिभिटी, वैदेशिक सम्बन्धमा सुधार, आर्थिक वृद्धि, सूचना प्रविधि क्षेत्रको तीव्र विकास, निर्यातमा सुधारलगायत थुप्रै उल्लेखनीय काम भएको सरकारको दाबी छ । तर, ‘समृद्ध नेपाल स् सुखी नेपाली’को मूल नारासहित देशलाई त्यसतर्फ अघि बढाउने प्रतिबद्धतासहित अघि बढेको सरकारका प्राथमिकता क्षेत्र र महत्वपूर्ण आयोजनाको कार्यसम्पादन भने समग्रमा निराशाजनक छ । राष्ट्रिय गौरवका आयोजनाको प्रगति, विकास खर्च, रोजगारी अभिवृद्धि, लगानी, व्यापार र रोजगारी अभिवृद्धिको क्षेत्र निराशाजनक छ ।   

३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको समाचार आजको राजधानी दैनिकमा छ । ओली सरकारको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ । यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । समाचार अनुसार यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ । ‘समृद्ध नेपाल,सुखी नेपली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ । 

गोरखापत्रले ‘सरकारका दुई वर्ष स् मुलुक समृद्धितर्फ अग्रसर’ शीर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा अग्रसर भएको छ । संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधार जस्ता महत्वपूर्ण उपलब्धि हात पारेको निष्कर्ष सरकारको छ । जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजनाको थालनी भएको छ । प्रधानमन्त्री ओलीको शब्दमा भन्ने हो भने “मूर्छित सपनाहरू बौरिएका छन् । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ ।” 

प्रधानमन्त्री ओलीले दुई वर्षको सरकारको अनुभवले मुलुकबाट गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग, भोक हटाउन सक्छौँ भन्ने स्पष्ट विश्वास देखाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामी विकासको बाटोमा छौँ । समृद्धि हासिल गर्ने बाटोमा छौँ । हामी सुशासन कायम गर्ने बाटोमा छौँ । भ्रष्टाचार रोक्ने, नियन्त्रण गर्ने र अन्त्य गर्ने बाटोमा छौँ । ” समाचार अनुसार प्रधानमन्त्री ओलीले सरकारका कामहरू विकास, समृद्धि, कानुनको पालना र सुशासनतर्फ केन्द्रित रहेको चर्चा गर्दै भन्नुभएको छ, “सरकारका प्रयासहरू त्यता छन् । यो दुई वर्षमा हामीले कुन बाटो लिएका छौँ, कुन दिशा लिएका छौँ र कुन गति लिएका छाँै रु यो आजको मुख्य प्रश्न हो ।” 

उहाँले पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय कार्य भएको चर्चा गर्दै भन्नुभएको छ, “यस अवधिमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्रे भएको छ । तीन हजार ५७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । ३२५ वटा सडक पुल निर्माण भएका छन् ।” प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने कार्यको थालनी, नागढुङ्गा सुरुङमार्गको प्रारम्भ, जयनगरदेखि बिजुलपुरासम्म रेगमार्ग सञ्चालनको तयारी, जलमार्गमा पहुँच विस्तार, अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी, उच्च आर्थिक वृद्धिदर गरेका विश्वका १० मुलुकमध्ये नेपाल एक हुनेजस्ता सूचकाङ्कले पनि मुलुक सही दिशातिर गइरहेको प्रस्ट सङ्केत गर्ने धारणा व्यक्त गर्नुभएको छ । 

अन्नपूर्ण पोष्टले नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ । वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ । 

महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ। वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ । चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला) मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ। वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन् । सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन। ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ। 

 चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ। त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ। विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ। 

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ। औषधिदेखि ग्याजेटसम्मको पार्टस्का लागि उत्पादकहरू चीनमा निर्भर छन्। चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ। चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ। कोरोना भाइरसको उद्गम चीनको अर्थतन्त्र भने यसपटक नराम्ररी प्रभावित हुने निश्चित छ। अघिल्लो वर्ष नै चिनियाँ अर्थतन्त्र तीन दशकयताकै न्यून दरमा विस्तार भयो। सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६।१ प्रतिशत थियो। चीन र अमेरिका व्यापार युद्धका कारण चिनियाँ अर्थतन्त्र सन् २०१९ मा तीन दशकयताकै सुस्त रह्यो। 

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन सन् २०१८ देखि सुरु भएको द्विपक्षीय व्यापारको मलोमालिन्य अन्त्य गर्दै २०२० को आरम्भमा व्यापार युद्धलाई आंशिक रूपमा सच्याउन सफल भएका थिए। चीन र अमेरिकाका उत्पादन उद्योगहरूको आपूर्ति प्रणालीमा आबद्ध अन्य देशबाट कच्चा वस्तु र पार्टस् निर्यात वृद्धि भई विश्व अर्थतन्त्रले लाभ हासिल गर्ने अपेक्षा गरिएका बेला घातक महामाहारी फैलियो। जसले विश्व अर्थतन्त्रमा थप अनिश्चय पैदा भएको छ । समाचारमा छ ।  विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेपछि तेल उत्पादकले उत्पादन कटौती गरेका छन्। महामारी फैलिएलगत्तै चीनका विभिन्न सहरमा हुने उडान र त्यहाँ ट्रान्जिट बनाएका विश्वका धेरै हवाई कम्पनीले उडान रद्द गरेका थिए। जसले धेरै देशको पर्यटन उद्योगलाई प्रभावित बनाएको छ। 

एक अर्ब ३८ करोड ६० लाख जनसंख्या भएको चीनको आर्थिक उदयसँगै विश्वमा धेरै भ्रमण गर्नेमा पनि चिनियाँ नै छन्। सन् २०१८ मा १६ करोड २० लाख चिनियाँले बाह्य मुलुकमा भ्रमण गरेका थिए। यो संख्या सन् २०१९ मा १८ करोड पुगेको थियो। पर्यटनमा केन्द्रित विश्वका धेरै मुलुकले चिनियाँ पर्यटक तान्ने ध्याउन्नमा लागेका देखिन्थे। तर नोभेल कोरोना भाइरसको महामारी बढेसँगै चिनियाँ पर्यटकको संख्या उल्लेख्य कमी आएको छ। 

कोरोना भाइरस ‘कोभिड–१९’ को प्रकोप रहेको चीनको वुहानबाट १ सय ८० नेपालीलाई आइतवारसम्ममा नेपाल ल्याइंदैछ । त्यसका लागि नेपाल वायुसेवा निगमको जहाज शनिवार त्यसतर्फ प्रस्थान गर्दैछ । गोरखापत्र दैनिकमा खबर छ ।  

भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सरकारले उद्धार गरी नेपाल ल्याउन लागेको हो । नेपाल ल्याइए पनि उनीहरूले तत्काल आफन्त तथा साथीभाइसँग भेटघाट गर्न पाउने छैनन् । उनीहरूलाई सरकारले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेर भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा राखिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *