लागूऔषध दुर्व्यसनलाई टाढै राख्नु पर्नेमा जोड


फागुन १६, चितवन । लागू औषध दुर्व्यसनले समाजनै खतरामा पर्न सक्ने भन्दै सरोकारवालाहरुले दुर्व्यसन नियन्त्रणका लागि अभिभावक सचेत हुनुपर्ने बताएका छन् ।
खैरहनी नगरपालिका वडा नम्वर २ को सहयोगमा युवा क्लवले शुक्रवार आयोजना गरेको लागू औषध दुर्व्यसनी बिरुद्धको सचेतना कार्यक्रममा उनीहरुले यस्तो औल्याएका हुन् । खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले दुर्व्यसनमा फसेका एक व्यक्तीका कारण सिंगो समाजलाई असर पर्ने बताए ।
मेयर चौधरीले भने ‘आफ्नो छोराछोरीसंगै समाजका अन्य युवाहरुको निगरानी सबैले गर्नुपर्छ ।’ युवा सबै पक्षमा सवल बन्नु पर्ने भन्दै मेयर चौधरीले आचरण, विचार र व्यवहार राम्रो हुनु पर्ने औल्याए । खैरहनी वडा नम्वर २ का वडा अध्यक्ष टिकादत्त इटनीले कुलतमा फसेका साथीभाईको लहलहैमा लाग्दा जीवननै बर्वाद हुने भएकाले दुर्व्यसनबाट टाढा हुनु पर्ने बताए ।
इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले लागू औषध दुर्व्यसनी र कारोबार प्रहरीलाई चुनौतीको विषय बनेको बताए । मगरका अनुसार खैरहनीमा विगतका वर्षको तुलनामा लागू औषधका मुद्याहरु बढ्दै गएको छ ।
लागू औषधका कारण अन्य अपराधलाई समेत बढावा दिने भएकाले यसको नियन्त्रणमा सबैको सहयोग आवश्यक पर्ने प्रहरी निरीक्षक मगरले बताए । वडा स्तरीय युवा क्लवका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा सपोर्ट एण्ड केयरका प्रकाश शाह र जयराम हुमागांईले लागू औषधबाट बच्ने उपायकाबारे सहजीकरण गरेका थिए ।
