‘देउवा सिंगो कांग्रेसको नभई गुटको सभापति भए’ डा. काेइराला

पुस १६, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आग्रह गरेका छन् ।
डा. कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको इतिहासमा यस्तो कहिल्यै नभएको बताए ।
कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गूटको सभापति बनेकाले समस्या आएको बताए । ‘सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुभएन, सिमित गुटको सभापति हुनुभयो ।’ उनले भने ।

उनले सभापतिकै कारण भात्रृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको जिकिर गरे । सभापति देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउन नसकेको डा. कोइरालाको दावि छ ।
कोइरालाले आफु पार्टी मजबुत बनाउने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट पारे ।
४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङ्ले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले कम्युनिस्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको समेत जिकिर गरे । ‘कम्युनिस्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर भयो यो कांग्रेसलाई स्विकार्य छैन ।’ उनले कांग्रेसलाई अति राष्ट्रबाद पनि स्विकार्य नहुने प्रष्ट पारे ।
‘२०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कंदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ ।’ कोइरालाले भने–‘त्यत्तिवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले वीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुभएको थियो । र, प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जिवनभर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन।’
बर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’ मार्फत मुलुकलाई एकदलिय ब्यवस्थामा लैजान लागि परेको उनको आरोप थियो ।
सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने, अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक–अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने, सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथि खत्तरा बढेको डा. कोइरालाको भनाइ छ ।
आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा. कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।
पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्दै कोइरालाले भने–‘संबैधानिक राष्ट्रपतिले पदिय मर्यादा र गरिमा भुलेर दलिय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउँन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ ।’
सरकारले यति होल्डिङ्स लगायत केही सिमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पत्तिमाथि अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतिलाई छुट नभएको बताए ।








