कहिले बन्छ दुवाकोटमा वीर अस्पताल ? के–कति अघि बढ्यो प्रक्रिया ?

पुस १७, काठमाडौं । वि.सं. २०७३ साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले मुलुककै जेठो मानिने वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तिका लागि स्वीकृति दियो ।   

वीर अस्पतालको स्थान साँघुरो भएको र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटमा सार्ने निर्णयपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले जग्गाको अवलोकन समेत गर्यो ।   

उपत्यकाकै विभिन्न ९ स्थानमा जग्गा खोजी गरेपनि उपयुक्त जग्गा पाउन सकिएको थिएन । दुवाकोटमा करिब ६ सय रोपनी जग्गा भेटिएपछि वीर अस्पताल त्यहाँ सार्ने र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शैय्याको बनाउने तयारी थियो ।   

तत्कालीन अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय स्तरको वीर अस्पताल बनाउन विलम्ब गर्न नहुने बताएका थिए । यद्यपी तीन वर्ष बितिसक्दा पनि जग्गा वरिपरि काँढे तार लगाउने बाहेक अरु काम अगाडी बढ्न सकेको छैन ।   

जनमानसमा दुवाकोटमा वीर अस्पताल बन्ला कि नबन्ला भन्ने कौतुहलता तथा अन्यौलता देखिइरहँदा   

त्यहाँ बन्ने निश्चित भइसकेको वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरी बताउँछन् । उनका अनुसार त्यहाँ भौतिक पूर्वाधारका कुराहरु उठेका छन्, स्वास्थ्य मन्त्रालय लगायत अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अघि बढाइने छ । 

‘सबै काम प्रक्रियामै छ । यो वर्ष डिपीआर गर्ने भनिएको थियो । तर त्यो सम्भव भएन । सकेसम्म यसै वर्ष कम्पाउण्ड लगाउने कुरो छ । स्वास्थ्य तथा सम्बन्धित मन्त्रालयहरुसँग मिटिङ बस्दैछौँ’, निर्देशक सेन्चुरीले भने ।   

करिब २३ अर्ब लागतमा वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा गुरुयोजना पेश गरेको थियो । यता सरकारले पनि ०७६ को बजेटमार्फत् भक्तपुरमा वीर अस्पतालको सेवा विस्तार तथा भवन निर्माणका लागि ४० करोड बजेट छुट्याइसकेको छ । 

थप लगानीका लागि सरकारले दातृ निकायको खोजी गरिरहेको छ तर, अहिलेसम्म कसैले पनि लगानीको प्रतिबद्धता नजनाउँदा काम अघि बढ्न नसकेको डा. सेन्चुरीको भनाइ छ ।   

‘सरकासँग पर्याप्त बजेट नभएका कारण यो अन्यौलता भएको हो । अहिलेसम्म दातृ निकायले बनाइदिने प्रतिबद्धता पनि जनाएका छैनन् । त्यसकारण नेपाल सरकारले बनाउने हो कि कसले बनाउने निश्चित भइसकेको छैन’, सेन्चुरीले भने । 

अस्पताल विस्तारको कामका लागि आएका चिनियाँ प्रतिनिधिले अस्पताल निर्माण हुने क्षेत्रको अवलोकनपछि सडक, बिजुली, खानेपानी र ढललगायत पूर्वाधारका काममा सहयोग गर्नुपर्ने प्रस्ताव गरेको थियो । यी यावत कुरा व्यवस्थित नभए त्यहाँ अस्पताल बन्न नसक्ने प्रतिनिधिहरुले प्रतिवेदनमा उल्लेख गरेका थिए । ती बुँदामा सहमति भएमा प्रक्रिया अघि बढ्ने बताइएको छ ।   

 बाटोघाटो, बिजुली, ढल लगायतका विषयमा विभिन्न सम्बन्धित मन्त्रालयहरुसँग छलफल प्रक्रिया अघि बढाइने निर्देशक सेन्चुरीले जानकारी दिए । उनले भने, ‘अहिले अस्पतालका भीसी डा. डिएन शाह बाहिर फिल्डमा जानुभएको छ । उहाँ फर्किए लगतै अस्पताल तथा बाटोघाटो लगायत विभिन्न पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुसँग मिटिङ गर्ने हाम्रो योजना छ । अन्य प्रक्रिया पनि चलिरहेका छन् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =