‘सम्झनामा तारा देवी तथा सम्मान’

काठमाडौँ । तारादेवी स्मृति फाउन्डेसनले १४ औँ पुण्यस्मृतिका अवसरमा ‘सम्झनामा तारादेवी तथा सम्मान’ कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा आस्था कला केन्द्र, नेपाल इन्भेस्टमेन्ट बैंक, सेलवेज, उत्तम मार्ट तथा सुनौलो ताराको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।   

कार्यक्रममा तारादेवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायकगायिकाले तारादेवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका  थिए । कार्यक्रमा अग्रज गायिका ज्ञानु राणादेखि रेकिसा केसीसम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । गायिका राणाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘कालीपारे दाइ कति राम्रो…’ गीत गाइन् । अर्की गायिका संगीता थापाले माधव घिमिरेको शब्द तथा नातिकाजीकै संगीत रहेको गीत ‘फूलको थुँगा…’, यादव खरेलको शब्द तथा शिवशंकर मानन्धरको संगीत रहेको ‘नौ सय खोला तरेर जाने…’ गीत गाइन् । 

प्रस्तुतिकै क्रममा विमला गुरुङले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘मनको निश्चलतामा अडेर…’,गीता पाण्डेले किरण खरेलको शब्द तथा शिवशंकरको संगीत रहेको ‘हिमालको काखमा छ सानो मेरो गाउँ…’ प्रस्तुत गर्दा माहोल निकै तताइन्। 

null

भैरव नाथ रिमाल ‘कद’को शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको अमर माया छाडेर जानेले बोलको गीतमा जिना रसाइलीले गीत गाइन् । यस्तै प्राश्ना शाक्यले किरण खरेलको शब्द तथा नातिकाजीको संगीत रहेको “आऊ न आऊ तिम्रो खुसि…” बोलको गीत गाइन् । 

कार्यक्रममा दुई वटा युगल प्रस्तुति गरिएको थियो । जसमा रत्न शमशेर थापाको शब्द तथा नारायणगोपालको  संगीत रहेको ‘ए कान्छा, ठट्टैमा…’  बोलको गीतमा विजय नारायण मानन्धर र विष्णु चेम्जोङले युगल स्वर दिए साथै किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको ‘पला पला चुमेर’गीत राजीव परियार र गीता पाण्डेको प्रस्तुतिमा दर्शक अझै झनै रमाए। 

चादनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘उकाली ओरालीहरुमा…’ गीत लाबोनी चक्रवर्तीले मिठाससँग प्रस्तुत गरिन् । शेखरको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको ‘साघुरी बारी नी हउ…’ गीत ठुम्का गर्दै आरती गोलेले प्रस्तुत गरिन् । सरस्वती मानन्धरले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना…’गीत गाइन् । आस्था कला केन्द्रलका कलाकारले तारादेवीकै ‘यो नेपाली शिर उचाली…’ र ‘तिम्रा पाउहरूमा…’ गाए । तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। 

फाउन्डेसनले कार्यक्रममा तीन स्रष्टालाई सम्मान समेत गर्‍यो । नेपाली संगीत तथा साहित्यमा पाँच दशक योगदान पुर्‍याएबापत भैरवबहादुर थापालाई दिइएको सम्मान उनकी पत्नी धर्मदेवी थापाले ग्रहण गरिन् ।   

त्यस्तै, कालजयी गीतका संगीत सिर्जना गरेका नातिकाजीलाई पनि सम्मान प्रदान गरिएको थियो । नातिकाजी संगीत कोषकै अध्यक्ष संगीतकार शम्भुजित बाँस्कोटाले उक्त सम्मान ग्रहण गरे । रचनामार्फत संगीत क्षेत्रमा योगदान गरेका गीतकार किरण खरेललाई पनि फाउन्डेसनले सम्मान गरेका थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सहरी राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र फाउन्डेसनका अध्यक्ष दीपक केसीलगायतकाले सम्मानित सबै स्रष्टालाई सम्मान ताम्रपत्र सहित जनही २५ हजार १ रुपैयाँ दोषल्ला सहित हस्तान्तरण गरे । 

सम्मान ग्रहण गर्दै संगीतकार बाँस्कोटाले तारादेवीलाई गायिकासँगै संगीतकारका रूपमा पनि सम्झिनुपर्ने उल्लेख गर्दै फाउन्डेसनले यसबारे पनि खोजी गर्ने आशा व्यक्त गरे । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले कला र यसलाई विकास गर्ने कुनै पनि ठोस निर्णयलाई आफूले सम्बोधन गर्ने उनले प्रतिबद्धता जाहेर गरे । कलाले एकता ल्याउने काम गर्नुपर्ने तर्क गर्दै भने, ‘यो विधामा राजनीतिको रोग सरेर फुट्नु हुँदैन ।’ नेपालमा मात्र सिमित नराखी अन्तराष्ट्रिय स्तरमा बसोबास गरेका नेपालीहरु र विदेशी नियोग माझ पनि स्वर किन्नरीको  गीतहरु प्रस्तुत गर्नु पर्ने महासचिब शोवन सैंजुले आफ्नो विचार व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *