डायलाइसिस गर्दै काममा खटिँदै प्रधानमन्त्री ओली

माघ ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बैठक र प्रशासनिक कामलाई अड्काएका छैनन् । 

मन्त्रिपरिषद् बैठकका निर्णयदेखि पार्टीका महत्वपूर्ण बैठकमा समेत सहभागी भएर प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाउँदै आएका छन् । 

null

प्रधानमन्त्री ओली शनिबार पनि डायलाइसिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डायलाइसिस गरेर बालुवाटार फर्केलगत्तै उनी पुनः प्रशासनिक कार्यमा सक्रिय हुने गरेका छन् । 

प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले डायलाइसिस गर्दै आफ्नो नियमित कार्यलाई अगाडि बढाउँदै आएको बताए । 

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीले निवासमा बसेर नियमित रूपमा नै महत्वपूर्ण कार्य गरेको जानकारी दिए । तत्काल प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको कुनै योजना नबनेको थापाले बताए । 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको नियमित डायलाइसिस भइरहेको बताइन् । डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न र भिडभाडमा नजान चिकित्सकले सुझाव दिँदै आएका छन् । 

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । उनले भने, ‘प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्छ ।’ 

प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका क्रममा सिंगापुर पुगेर प्लाज्माफेरोसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीले डायलाइसिस रोजेको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *