राजपाको प्रश्नः सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ?

माघ १६, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सांसद यादवले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले सरकारमा जाने सम्भावना छैन । सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन ।’
संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे । उनले भने, ‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि ईच्छुक छैन । तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौँ । हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन ।’

उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने, ‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देऊ भनेर मागेका छैनौँ । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौँ ।’
सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै उनले भने, ‘मधेशमा भएका सहिदहरुका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होइन । हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं ।’
वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाई छ । ‘संविधान संशोधन गर्छ भनेर नै हामीले यो सरकारलाई यसभन्दा अघि एक वर्षसम्म समर्थन गरेका थियौं । तर, एक वर्षसम्मपनि संशोधन नभएकोले हामीले समर्थन फिर्ता लियौं । हाम्रो अहिलेपनि माग र मुद्दा यथावत छन् । ती माग र मुद्दा सम्बोधन नभएसम्म हामी सरकारलाई समर्थन गर्दैनौं । तर, हाम्रा माग पूरा भए समर्थन गर्नेबारे विचार गर्छौं ।’
मधेश आन्दोलनका घाईतेहरुको अझैपनि उपचार हुन नसकेको र मुद्दा लागेका कार्यकर्ताहरु फरार रहेको सुनाउँदै उनीहरुको माग पूरा गर्नुपर्ने उनले सुझाए । उनले भने, ‘रेशम चौधरीको मुद्दा राजनीतिक मुद्दा हो । यो मुद्दालाई राजनीतिक रुपमा हल गरिनुपर्छ । हाम्रो पार्टीको विगतको मुद्दा अहिलेसम्मपनि यथावत छ । विगतमा हामीले जुन मुद्दा र मागको लागि यो सरकारलाई समर्थन गरेका थियौं, यो सरकारले त्यहीँबाट प्रक्रिया अगाडि बढाओस् । हामी यो सरकारलाई आवश्यकत्ता ठानेको खण्डमा हाम्रो माग र मुद्दालाई सम्बोधन गरेको अवस्थामा समर्थन दिन तयार छौं ।’
यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए । उनले भने,‘एकताको लागि हामीले वार्ता कमिटी बनायौं, त्यो कमिटीले काम गरिरहेको छ । अहिलेपनि अनौपचारिक वार्ताहरु भैरहेका छन् ।’
उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरे । उनले दुवै पार्टीको बराबर संख्या भएकोले सम्मानजनक नेतृत्व मिलाउने तयारी भएको पनि स्पष्ट पारे ।
उनले आफूहरुले चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुँगोमा पुगोस भन्ने चाहेको पनि सुनाए । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आफूहरुको एकता नचाहेको उनले आरोप लगाए । उनले भने, ‘यी दुवै पार्टीले थ्रेस होल्ड लगाएपछि मधेशवादी पार्टी समाप्त हुन्छ भनेर सोचेका थिए, तर पहिचानको मुद्दा बचाउनको लागि हाम्रो बीचमा एकता आवश्यक छ ।’
यादवले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे ।








