खसी दिएर घरजग्गा नै कब्जा गर्ने राजपाका साहुकार, बलात्कारका अभियुक्तले खुवाए भोज, ताहचलको जग्गा कौडीको भाउमा यतिलाई

पुस २३, काठमाडौं । आज पुस २३ गते बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले समसामयिक विषयलाई प्राथमिकता दिएका छन् ।   

आजका पत्रपत्रिकाले फरकफरक विषय हेडलाइन बनाएका छन् । आजको नयाँ पत्रिकामा तराईमा ब्याप्त साहुकारले कमजोर आर्थिक अवस्था भएका निम्न वर्गका किसानलाई कसरी लूटिरहेका छन् भन्ने खोजमुलक रिपोर्ट प्रकाशित गरेको छ ।   

नयाँ पत्रिकाको कभरस्टोरीमा प्रकाशित समाचार अनुसार, राजनीतिक दलको संरक्षण पाएर तराईमा लूट मच्चाएका रामबाबु राय यादव र सञ्जय रौनियारको साहुकारिता उजागर गरेको छ ।   

नयाँ पत्रिका लेख्छ ‘ऋण दिँदा बन्धकी पनि होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा, सर्लाहीआसपासमा १५ सय पीडित, जनतालाई लाख दिएर करोडको तमसुक बनाउने रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य र सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार 

एउटा खसी दिएर घरजग्गा कब्जा गर्ने रामबाबु राय यादव राजपाका केन्द्रीय सदस्य । उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवार भएर दुई हजार नौ सय ९९ मतसहित तेस्रो भएका थिए ।   

अर्का साहुकार सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए । सर्लाही २ (क) बाट उनी चार हजार ६ मत पाएर दोस्रो भएका थिए । उनीसँग भारतीय नागरिकता पनि छ । 

लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।’ 

नयाँ पत्रिकामै अर्को समाचार छ, ‘बलात्कारका अभियुक्त  गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँसु बोकेर काठमाडौंमा’   

बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दियो । आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे ।   

पीडित भने गाउँबाट विस्थापित हुनुर्पयो । निजामुद्दिन र मुवारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी माइतीको शरणमा पुगिन् । पीडा भुल्ने कोसिस गरिन्, तर सकिनन् । माइती पक्षसँग सल्लाह गरिन् । ढाडस पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन् । दोषीलाई कानुनी कठघरामा उभ्याउने अठोटसहित तीन दिनअघि उनी नेपालगन्जबाट बस चढेर काठमाडौं आएकी छिन् ।   

आजको कान्तिपुर दैनिकले संसदले जनताका विषयलाई प्राथमिकतामा नराखेको विषय उठान गरेको छ । भने, अनी नग्माले नेपालगञ्ज छोडिन शिर्षकमा बलात्कारका अभियुक्त धरौटीमा छुटेपछि नेपाल गञ्जकी नग्मालाई असुरक्षा बढेको र उनी न्याय माग्दै राजधानी आएको विषय छ ।   

नागरिक दैनिकले यति होल्डिङ्सले कब्जा गरेको सरकारी सम्पत्तिको विषय मुख्य समाचार बनाएको छ । यतिलाई ताहचलको जग्गा पनि कौडीको भाउमा सरकारले दिएको छ ।   

सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ । 

ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो । 

अग्रपृष्ठमै ब्यवसायीकै हितमा क्रसर कार्यविधि संसोधन गरिएको अर्को समाचार छ । यसैगरी जनकपुरमा मेयरकै कार्यकक्षमा पत्रकार कुटिएको समाचार पनि छ ।   

यसैगरी अन्नपूर्ण पोस्टका अनुसार सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटांैडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटांैडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन् । 

यसैगरी अन्नपूर्ण पोस्टले कांग्रेस भित्रको विवादको समाचार प्रकाशित गरेको छ । कांग्रेसभित्र देखिएको विवाद अन्त गर्न सभापति शेरबहादुर देउवा पुस ११ गतेको पार्टी निर्णय सच्याउन तयार भएका छन । बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएका हुन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *