इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक तहको पढाई पुरा गर्दै यी ‘नौं वर्षे बालक

पुस १७, एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् ।
सुन्दा आश्चर्य लाग्नसक्छ तर ९ वर्षीय बालकले आगामी डिसेम्बर महिनामा विश्वविद्यालयबाट स्नातक तहको पढाई पुरा गर्दैछन्।
बालक लरेन्ट सिमोन्स इन्दहोभन युनिभर्सिटी अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेका छन्। यो विषय स्नातक तह पढिरहेका औसत उमेरका युवाहरुलाई पनि गाह्रो विषय हो।

विश्वविद्यालयका प्राध्यापकहरु लरेन्टलाई ‘असाधारण’ र ‘प्रतिभाशाली बालक भन्छन्। स्नातक तहको पढाइ सकेपछि लरेन्टले मेडिसिन डिग्री पढ्दै इलेक्ट्रिक इन्जिनियरिङमा विद्यावारिधी गर्ने सोच बनाएको उनका पिता एलेक्जेन्डर सिमोन्सले बताएका छन्।
लरेन्टका आमा लिडिया भन्छिन्,‘ उनको हजुबाले उनीसँग ठूलो प्रतिभा भएको बताउँदा हामीले पत्याएका थिएनौं तर विद्यालयका शिक्षकले त्यसो बताएपछि हामीले पनि उनमा विशेष प्रतिभा भएको चाल पायौं।’
शिक्षकहरुले लरेन्टसँग कति ज्ञान छ भनेर परीक्षणहरु एकपछि अर्को गरे। उनीहरुका अनुसार लरेन्टको मस्तिष्कमा अत्याधिक प्रतिभा छ।
लरेन्टका परिवार उनी यति धेरै बौद्धिक किन छन्, सबै कुरा चाँडो कसरी सिक्छन् भनेर जानकार छैनन्। यद्यपी उनकी आमा ठट्यौली तवरमा भन्छिन्, ‘मैले गर्भवती हुँदा धेरै माछा खाएको थिए, सायद त्यही भएर होला।
इन्दहोभन युनिभर्सिटी अफ टेक्नोलोजीले लरेन्टको वौद्धिकतालाई हेररै आफूहरुले उनलाई स्नातक तहमा अध्ययन गर्न अनुमति दिएको बताएको छ।
युनिभर्सिटीका शिक्षा निर्देशक जोइर्ड हल्ओप भन्छन्,‘लरेन्ट साधारण बालक होइनन्। त्यसैले उनले स्नातक तह अध्ययन गर्नु साधारण हो।’ उनका अनुसार लरेन्ट विश्वविद्यालयको अहिलेसम्मकै सबैभन्दा छिटो पढाएको बुझ्ने विद्यार्थी हुन्। एजेन्सी








