कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा दक्षता मापन विधि बनाइँदै

माघ ७, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दक्षता मापन विधि बनाउन लागेको छ। प्रतिष्ठानले स्नातक अध्ययन गरिरहेका मिडवाइफ विद्यार्थीका लागि सो विधि बनाउन लागेको हो ।
यो विधि लागु भएपछि आमा र बच्चाको सुरक्षित भविष्यका लागि काम गर्न विद्यार्थीहरु सक्षम छन छैनन् भन्ने कुरा थाहा हुने छ ।
नेपाल नर्सिङ काउन्सिलले बनाएको मिडवाइफ्री पाठक्रम गाइडलाइनमा उल्लेख भएअनुसार तीन वर्षे स्नातक कार्यक्रममा मिडवाइफहरुले प्रत्येक वर्षमा तोकिएको दक्षता हासिल गर्नुपर्ने हुन्छ। काउन्सिल र मिडवाइफहरुको अन्तराष्ट्रिय महासंघले तोकेको ३१८ खालको दक्षता हासिल गर्नुपर्ने हुन्छ ।

आमा र बच्चाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएर सेवा दिनुपर्ने भएकाले मिडवाइफ सम्पूर्ण दक्षता हासिल गरे कि गरेनन भनेर मापन गर्ने प्रक्रियाको मस्यौदा तयार गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी नर्सिङ डीन सरस्वती गौतम भट्टराईले प्रतिष्ठानले तयार पारेको मापन विधिलाई काउन्सिल, नेपाल नर्सिङ संघ, मिडवाइफ कार्यक्रम सञ्चालन गरिरहेका प्रतिष्ठानका डीन, विश्वविद्यालयका प्रध्यापक, नर्सिङ प्रोफेसरलगायतसँग तीन दिने छलफल गरिरहेको जानकारी दिइन्।
सो दक्षता हासिल गरेका मिडवाइफले एक्लै सबै कुराको जिम्मा लिएर सेवा प्रदान गर्दै आमा र बच्चाको सुरक्षित भविष्यका लागि काम गर्न सक्षम हुने उनको भनाई छ।
काउन्सिलले बनाएको गाइडलाइन अनुसार मिडवाइफ अध्ययन गरिरहेका विद्यार्थीले तीन वर्षमा कम्तिमा एक सय गर्भवतिको जाँच गरेको हुनुपर्छ भने ५० वटा नर्मल सुत्केरी गराउनुपर्ने हुन्छ।
आफैँले सबै नर्मल सुत्केरी गराउनुपर्ने र त्यसमा सिरिन्ज वा अन्य कुनैपनि अन्य साधन प्रयोग गरिएको हुनुहुँदैन। यसका साथै १० जटिल सुत्केरी पनि गराएको हुनुपर्छ । त्यस्तै कम्तिमा ५० गर्भवति महिलाको पाठेघरको मुख जाँच अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था छ।
जुम्लामा अघिल्लो वर्षवाट स्नातक तहको मिडवाइफ्री कार्यक्रम सञ्चालन भएको थियो। हाल प्रथम वर्षमा ६ जना र द्धितिय वर्षमा १० जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।








