सापकोटा सभामुखमा नेकपाका उम्मेद्वार, मन्त्रालय पिच्छे विश्वविद्यालय, राजकुमार ह्यारीको शाही पद खारेज

माघ ६, काठमाडौं । आज माघ ६ गते राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्नि सापकोटालाई सभामुख बनाउन भएको नेकपाको निर्णयलाई प्रमुख समाचार बनाएका छन् । आजका कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, राजधानी दैनिक, नेपाल समाचारपत्रले नेकपाका सांसद सापकोटालाई तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा उम्मेद्वार बनाउन सत्तारुढ दलले निर्णय गरेको समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।   

आजको नागरिक दैनिकले अग्नि सापकोटालाई द्वन्द्व कालको एक घटनालाई जोडेर ‘हत्या आरोपित सापकोटा सभामुख प्रस्तावित’ भनेर ब्यानर समाचार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ । सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो । 

किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । २०७२ चैत २२ मा तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । आजको नागरिक दैनिकमा भाषा शर्मा लेख्छन् ।   

यस्तै आजको नागरिकमा हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन शिर्षकमा अर्को समाचार छ ।   

आजको कान्तिपुर दैनिकले पनि ‘सभामुख उम्मेदवारीः नेकपामा फेरिएको समीकरण’ शिर्षकमा नेकपा भित्र कसरी राजनीतिक शक्ति विकेन्द्रिकृत भइरहेको छ विष्लेषण गरिएको छ ।  डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । 

तर झन्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’ कान्तिपुर दैनिक लेख्छ ।   

अन्नपुर्ण पोस्टले ‘अन्ततः पूर्वमाओवादीलाई सभामुख’ शिर्षकमा समाचार छापेको छ । अन्नपूर्ण पोस्टको प्रथम पृष्ठमा हिमपहिरामा वेपत्ताको जमिनबाट खोजी कठिन शिर्षकमा समाचार छ । साथमा बेलायती राजकुमार ह्यारीको शाही पद खारेज गरिएको समाचार पनि छ ।   

राजधानी दैनिकले अग्नि सापकोटाको समाचारसँगै उखु किसानले ५९ करोड १६ लाख ५४ हजार रुपैंया अझै उखु मिलहरुबाट पाउन बाँकी रहेको समाचार प्रकाशित गरेको छ ।   

यता नयाँ पत्रिकाले भने ‘स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा’ शिर्षकमा कभर स्टोरी प्रकाशित गरेको छ । नियमावली र अन्तर्राष्ट्रिय अभ्यासविपरीत शिक्षा मन्त्रालय वाहेक अन्य मन्त्रालयले पनि विश्वविद्यालय सञ्चालनको तयारी गरेका छन । विभागीय मन्त्री सहकुलपति रहने गरी पर्यटन र रक्षा मन्त्रालय विश्वविद्यालय स्थापनाको दौडमा छन् । स्वास्थ्य मन्त्रालयले त अहिले नै ६ वटा प्रतिष्ठान (डिम विश्वविद्यालय) चलाइरहेको छ । 

पर्यटन मन्त्रालयले मन्त्री (पर्यटन) सहकुलपति रहने गरी होटेल व्यवस्थापन तथा पर्यटनसम्बन्धी प्रतिष्ठान खोल्न विधेयक तयार गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको असहमतिपछि विधेयक तीन महिनादेखि मन्त्रिपरिषद्मा रोकिएको छ ।   

त्यस्तै, रक्षा मन्त्रालयले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय गठन आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । यो विश्वविद्यालय स्थापनाको विषय बजेटमै उल्लेख छ । विश्वविद्यालयमा सर्वसाधारण, निजामती सेवाका कर्मचारी, सैनिक तथा सुरक्षा निकायमा आबद्धलाई अध्यापन गराउने रक्षाको योजना छ । स्वास्थ्य मन्त्रालयले पहिलेदेखि नै मन्त्री सहकुलपति हुने गरी प्रतिष्ठान (डिम युनिभर्सिटी) चलाइरहेको गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजाप्रसाद सिंह प्रतिष्ठान स्वास्थ्य मन्त्रालयअन्तर्गत छन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *