जापानमा खुल्यो केयर गिभरको रोजगारी

पुस २०, काठमाडौं । जापानले नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।
जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो ।
जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनासँग आवेदन माग गरेको छ ।

जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ । मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।
यो पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ ।
परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्युनतम् योग्यताका रुपमा छ ।








