प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न नेकपासहित ६ दलको संयुक्त प्रस्ताव दर्ता

पुस २६, काठमाडौं । सत्तारुढ नेकपासहित ६ दलले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने संयुक्त प्रस्ताव दर्ता गरेका छन्। 

शनिबार सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राप्रपा, राप्रपा संयुक्तलगायतका ६ दलले प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन्। 

प्रदेशको स्थायी राजधानी हेटौँडा राख्नुपर्ने प्रस्तावमा प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेल रहेका छन् भने यसको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ रहेका छन् ।   

प्रदेशको नाम बागमती राख्नुपर्ने प्रस्ताव कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गरेका छन् भने उनको प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी रीता माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्यले समर्थक रहेका छन्।   

विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत हुँदै राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबारै दर्ता गराएको छ । 

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल हुँदैछ । आइतबार मतदान हुनेछ ।   

प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउनुपर्ने संवैधानिक प्रावधान छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =