कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’

पुष २१, काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् । 

शुक्रबारबाट नियमित मञ्चन सुरु भएको नाटक हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको छ । ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवियतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रति भन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवियताको हदसम्म पुग्छ ।   

समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवियता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य नाटकले गर्छ । यसर्थ, यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लिलता सार्थक लाग्छ ।   

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’ जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुँदाहँुदै नाटक सकिदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ । 

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहहँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरिह अवस्थालाई चित्रण गरेको छ । 

हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउँसो २ बजे पनि कीर्तिपुर रंगमञ्चमा मञ्चन हुनेछ । शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्यञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले नाटक ‘जामुनको रुख’मा अभिनय गरेका छन् ।   

यही नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरु हँुदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारका कलाहको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जनले जनाएकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =