यसकारण मनाउनु पर्छ पृथ्वी जयन्ती !

आज २ सय ९८ औं पृथ्वी जयन्ती । गोर्खाका पृथ्वीनारायण शाह शाहबंशिय राजा थिए । स–साना राज्यहरुमा बाँडिएका बाइसे चौबिसे राज्यहरुलाई एकत्रित गरि एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालका राष्ट्रनिर्माताको रुपमा चिनिन्छन् । नेपालमा २००७ सम्म राणा शासन थियो, त्यसैले पृथ्वी जयन्ति मनाइन्थ्यो मनाइन्थेन कसैलाई थाहा छैन । तर, २००९ सालदेखि भने योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन शुरु गरेका हुन् । जुन जनान्दोलन २०६२÷०६३ सम्म कायम रह्यो । 

‘घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन ।’ दुरदर्शी तथा कुशल व्यक्तित्व पृथ्वीनारायण शाहद्वारा दिइएको दिव्योपदेश आजपनि मुलुकका लागि उत्तिकै सान्दर्भिक छ । यो बाहेक पनि उनले अनेकन उपदेश दिएका छन्, जुन आजपर्यन्त जिवन्त छ । 

अहिले भ्रष्टाचार यसरी मौलाएको छ मानौं त्यसरी कुनै कुराको विकास हुन सकेको छैन । उतिबेलै ‘घुस लिन्या र दिन्या दुबै राष्ट्रका दुश्मन हुन’को कुरा गरेका उनले आज भ्रष्टाचारको जरो मौलाएर आकासिएको भान हुन्छ ।   

पृथ्वीनारायण  शाह बिक्रम सम्बत १७७९ पौष २७ मा गोर्खा राज्य अर्थात गोरखा देशको राज परिवारमा जन्मेका थिए । बीस बर्षको कलिलै उमेरमा राजा बनेका उनले आफ्नो जीवनकालका झण्डै तीस बर्ष युद्धमै बिताए ।   

पृथ्वीनारायण शाहले गरेको एकीकरण अभियान बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टानदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्त थियो । नेपालको इतिहासका शीर्षस्थ एवं श्रद्देय पुरुष पृथ्वीनारायण शाहले अनवरत मेहनत गरि नेपाल देशको जन्म दिएर जनताको सेवा र देश विकासमा कदम राख्ने बेला, देशमा  शान्ति र सुव्यवस्था ल्याउने सपना लिँदालिँदै ५२ बर्षको अर्धबैंसे उमेरमै संसार छाडेका थिए । 

उनले देहत्याग गरे पनि नेपाल एकीकरण अभियानमा उनका बुहारी, छोरा हुँदै पनातीसम्मले सहभागिता जनाएका थिए । ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने उनको यो उपदेशबाट पनि सहजै अनुमान लगाउन सकिन्छ कि हामीले शानले भन्ने नेपालको एकीकरण यीनै राष्ट्रनिर्माता र उनका परिवारबाट सम्भव भएको हो । त्यो समयमा आधुनिक हातहतियार थिएन र पनि बाइसे चौबिसे राज्यलाई एउटै मालामा उन्न सक्नु भनेको इतिहासकै विरताको कुरा हो ।   

उनी सिङ्गो देश निर्माणका महापुरुष हुन्, उनकै कारण आज हामी आफुलाई नेपाली भनेर गर्व गर्न सक्छौं । आफ्नो पहिचान स्थापीत गर्न सकिरहेका छौं ।   

एसियाका प्रायः सबै देश अंग्रेजका गुलाम भए तर, नेपाललाई कहिल्लै अधिनमा पार्न सकेनन् । यसको श्रेय पनि पृथ्वीनारायण शाहलाई नै जान्छ । यदी उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी विशाल नेपाल नबनाएको भए अहिले नेपाल कि भारतको अधिनस्त हुन्थ्यो कि, चीनको कुनै क्षेत्र ।   

अहिले जनान्दोलन ०६२/०६३ पछि राजसंस्थाको पतन भयो । त्यसपछि दुरदर्शी राजा पृथ्वीनारायण शाहको देनलाई समेत नामेट गर्ने अभियान चलाइएको छ । ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ’ पृथ्वीनारायणले पनि नेपाल एकीकरणको महाअभियानमा प्रेम र युद्ध दुवै प्रयोग गरेको इतिहास छ । मकवानपुरे राजाको छोरी विवाह गरे, उपत्यका आक्रमण गर्न काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरे राजाहरुमा फाटो ल्याइदिए । जातियताको संकिर्ण सोचबाट माथि उक्लंदै विसे नगर्ची जो तत्कालिन परिवेशमा तल्लो जातका मान्छे थिए, उनीसँग सल्लाह लिए ।   

तर, अहिले आएर केहि अभियानकर्मी जातियताका नाममा राजनीति गर्नेहरुले पृथ्वी नारायण शाहका कामलाई नै नामेट गर्ने गरी विशाल नेपाल एकीकरणको अभियान नै गलत थियो भनि ब्याख्या गरिरहेका छन् । उनीहरुले यो बुझ्न सकेका छैनन् कि, पृथ्वी नारायण शाहले यदी छरपष्ट रहेका राज्यलाई एकीकरण नगरेका भए हामीले नेपाल भन्न सक्थ्यौं कि सक्दैनथ्यौं । शंका र भ्रमले साँचो र सत्य कुरालाई जहिले पनि ओझेल पारिदिन्छ, जुन कुरा हामीले बुझ्न अति जरुरी छ ।   

पृथ्वीनारायण शाहले नेपालको माटोलाई तिर्न नसक्ने गुन लगाएर गएका छन् । पृथ्वीनारायण शाह दुरदर्शी राजा थिए । उनी नेपालमा मात्र नभई दक्षिण एसियामै दुरदर्शिता भएको कुशल व्यक्तित्व, कुशल प्रशासक तथा राष्ट्रिय एकताका प्रतिक थिए । 

गणतन्त्र स्थापना पश्चात् नेपाल सरकारले उनको सम्झनामा मनाईदै आएको राष्ट्रिय एकता दिवसलाई मनाउन छोडेको छ । यो दुःखको कुरा हो । संसारका विभिन्न मुलुकले आफ्नो देशको गौरवान्वित इतिहासमा योगदान पुर्याउँने नेता वा राजालाई सम्मान स्वरुप राष्ट्रिय विभूती मानेर राष्ट्रिय दिवस मनाउने गर्दछन् । सार्वजनिक बिदा समेत दिने चलन छ । 

बिक्रम सम्बत १८१६ अगाडी नेपालको फैलाव भारतको उत्तराखण्ड, हिमाचल देखि पन्जाबसम्म र पूर्वतिर दार्जलिङ् हुँदै सिक्किमसम्म रहेको  भारतीय इतिहासमा पनि पढ्न पाइन्छ ।   

आज भारतले पश्चिमी नेपालको कालापानी, लिपुलेक मिचेको कुराले हामी जति दुखिः भएका छौं, त्यो भन्दा बढी दुखिः पृथ्वी नारायण शाह हुन्थे, यदी उनी जिवित थिए भने । उनले त्यसै भनेका छैनन् ‘मेरा साना दुःखले आज्र्याको मूलुक होइन’  राष्ट्र र राजा फरक पाटा हुन् । यसलाई हेर्ने दृष्टिकोण बदल्न’ जरुरी छ । गौरवको रुपमा हेर्नुपर्ने व्यक्तिलाई राजखान्दानको रुपमा मात्रै हेरिनाले हाम्रो सोच र मानसिकता संर्किण बन्दै गएको देखिइरहेको छ ।   

राजसंस्थालाई जोडेर पृथ्वीनारायण शाहको योगदानलाई वेवास्ता गर्नु हुँदैन । नेपाल एकीकरण गर्ने महापुरुष नेपालका राष्ट्रिय विभूति हुन । उनको सम्झनामा नेपालले एकता दिवस मनाउनु पर्दछ ।   

नेपाल एकीकरण अभियानमा सहिद हुनु भएका समस्त ज्ञात अज्ञात सहिदप्रति श्रद्धा सुमन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =